
विराटनगर । विराटनगरस्थित नोवेल मेडिकल शिक्षण अस्पतालले नेपालमा मै पहिलो पटक अत्याधुनिक प्रविधिको प्रयोग गरी क्यान्सरको उपचार गर्ने प्रविधि भित्राएको छ।
नोवेल मेडिकल कलेज शिक्षण अस्पतालका सञ्चालक एवम् प्रतिनिधि सभाका सदस्य डाक्टर सुनीलकुमार शर्माले दक्षिण एसियामा यो प्रविधि भित्राउने नोवेल नवौँ अस्पताल रहेको बताउनु भयो ।
भारतका अस्पताल मध्ये मुम्बई स्थित कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा एउटा, म्याक्स अस्पतालमा तीन वटा, नयाँदिल्ली स्थित मेदान्त अस्पतालमा २ गरी ६ वटा मात्र जडान गरिएको छ ।
अमेरिकामा निर्मित भेरियन कम्पनीको रेडिएसन थेरापीको एज ‘इडीजीइ’नामक उपकरण नेपालको हकमा बिराटनगर स्थित नोबेल मेडिकल कलेजमा मात्र उपलब्ध छ । नेपालमै पहिलो पटक नोबेल मेडिकल कलेजमा जडान भएसँगै अब आम नागरिकलाई क्यान्सर उपचारमा थप सहज हुनेछ ।
डाक्टर शर्माले नोबेल मेडिकल कलेजले ३ अर्ब ४० करोड रुपियाँ खर्च गरेर क्यान्सर अस्पतालको छुट्टै ब्यवस्थापन गरेको बताउनु भयो । यो खर्चबाट नयाँ भवन अत्याधुनिक उपकरण र दक्ष जनशक्ति परिचालन भइरहेको शर्माको भनाई छ।
नोवेलले हाल सय बढी क्यान्सरका बिरामीको उपचार गरिरहेको छ । अस्पतालका सञ्चालक डाक्टर शर्माले यो मेसिन मात्र ५५ करोड रुपियाँमा भित्राएको जानकारी दिनुभयो ।
नोबेल मेडिकल कलेजले नेपाल सरकारको विपन्न नागरिक औषधि उपचार कोष अन्तर्गत क्यान्सर रोगीलाई उपचार सेवा प्रदान गर्दै आएको छ । यसले विशेषगरी पूर्वी नेपालका आर्थिक रूपमा कमजोर रोगीलाई राहत दिएको छ । विपन्न नागरिक औषधी उपचार कोष अन्तर्गतको सेवा प्रदान गर्न नोबेलमा रहेको सामाजिक सेवा इकाईले सहजीकरण गर्ने गर्दछ ।
यस उपकरणमा रहेको ६ डी काउच, हाइपर आर्क, एचडी एम आईसी, एसआर एस, र एसबी आरटीले शल्यक्रियाविना नै क्यान्सर सेललाई निर्मूल गर्न सक्ने अस्पतालको दाबी छ ।
यसैगरी आईजी आरटी, आईएम आरटी, भीएम एटी जस्ता प्रविधिले सामान्य सेललाई क्षति नगरी केवल क्यान्सर सेललाई मात्र टार्गेट गर्ने क्षमता राख्दछ ।
ब्राकी थेरापीले विनादुखाइ उपकरणको सहायताले शरीरभित्र पुगेर क्यान्सर सेललाई नष्ट गर्ने काम गर्ने जनाइएको छ ।
नोबेलमा क्यान्सर उपचारकोलागि दैनिक ओपीडी, प्रयोगशाला परीक्षण, एक्सरे, सिटी स्क्यान, एम. आर. आई, अल्ट्रासाउण्ड, डे केयर, केमो थेरापी, शल्यक्रिया, भर्नागरी उपचार गराइने अन्तरङ्ग सेवा, रेडिएसन थेरापी लगायतका सेवा सञ्चालनमा छन् ।
मोरङ ३ बाट प्रतिनिधि सभामा निर्वाचित डाक्टर सुनीलकुमार शर्माले आफ्नो निर्वाचन क्षेत्रका सबै विरामीलाई बिराटनगरको नोवेल अस्पताल र काठमाडौंको काठमाडौं मेडिकल कलेजमा निशुल्क देखि ५० प्रतिशत छुटमा उपचार गराइरहेको छ ।
काठमाडौं र विराटनगरका अस्पतालमा निर्वाचन क्षेत्रका विरामीको निशुल्क उपचार मात्र होइन, कुरुवाको आवास र खानाका लागि छुट्टै प्रबन्ध मिलाएको छ ।



