
उर्लाबारी । उर्लाबारीमा पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान सुरु भएको छ ।
उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीनाकुमारी खतिवडा पौडेलले नगरका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य किट प्रदान गरी अभियानको थालनी गर्नुभएको हो । उहाँले महिलाहरूमा देखिने पाठेघरको मुखको क्यान्सर गम्भीर समस्या भएको बताउँदै यस अभियानलाई सफल बनाउन सबै पक्षको खाँचो औल्याउनुभयो ।
यस अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्मका किशोरीहरू तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई एचपीभी खोप प्रदान गरिनेछ । उर्लाबारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश खड्काका अनुसार नगरपालिकाभित्र रहेका सामुदायिक तथा निजी विद्यालयहरूका चार हजार एक सय ११ छात्रासहित अन्य लक्षित समूहलाई खोप प्रदान गर्ने लक्ष्य राखिएको छ ।
स्वास्थ्य शाखा अधिकृत रेनुकाप्रसाद काफ्लेले पाठेघरको मुखको क्यान्सरलाई रोकथाम गर्न एचपीभी खोप प्रभावकारी रहेको बताउनुभयो । उर्लाबारीमा माघ २७ गतेदेखि हरेक विद्यालयमै गएर खोप दिइनेछ भने विद्यालय पहुँचबाहिर रहेका बालिकालाई लक्षित गरेर नौ वटै वडाका आधारभुत स्वास्थ्य केन्द्रलाई खोप केन्द्रका रूपमा तोकिएको छ । वडा नं. ४ को हिमचुली बोर्डिङ स्कुलमा नगर उपप्रमुख मीना खतिवडा पौडेल, वडाध्यक्ष कल्याणकुमार राई, स्वास्थ्य शाखा प्रमुख सुरेश खड्काले खोप कार्यक्रमको अनुगमन गर्नुभएको छ ।



