मोबाइल पसलपछि सुन पसलमा चोरी, आरोपी अझै फरार

दिलिप पोखरेल/ उर्लाबारी
मोरङ जिल्लाको दोस्रो ठूलो सहर उर्लाबारीमा चोरीका दोहोरो घटनाले स्थानीयवासी त्रसित बनेका छन् । गत माघ २१ गते राति उर्लाबारीको मुख्य चोकमा रहेको मोबाइल पसलमा करिब ४ करोड रुपैयाँ बराबरको समान चोरी भएको घटना सेलाउन नपाउँदै सोमबार बिहान एउटा सुन पसलमा चोरी भएको छ । लगातार भएका यी ठूला चोरी घटनाले उर्लाबारीमा सुरक्षा व्यवस्था कमजोर रहेको देखाएको छ ।

माघ २१ गते राति अज्ञात समूहले मोबाइल वर्ल्डको सटर फोडेर पसलमा रहेका मोबाइल,ट्याब्लेट तथा अन्य सामानहरूसहित नगद समेत चोरेर लगे । पसल सञ्चालक योगराज कार्कीकाअनुसार करिब ४ करोड रुपैयाँ बराबरको क्षति भएको छ । प्रहरीमा उजुरी परे पनि हालसम्म कुनै आरोपित पक्राउ परेका छैनन् । चोरी भएको पसल र इलाका प्रहरी कार्यालय उर्लाबारीको दूरी १ सय मिटर पनि छैन ।

यस्तै आज बिहानै अर्को ठूलो चोरी घटना घटेको छ । उर्लाबारीकै बजार क्षेत्रमा रहेको आईतबारेस्थित न्यू पाथिभरा ज्वेलर्समा लाखौँ रुपैयाँ बराबरको सुन, चाँदी र नगद चोरी भएको छ । पसल सञ्चालक रमेश बराईलीका अनुसार बिहान पसल खोल्न आउँदा घरको पछाडिपट्टिको भित्ता फोडिएको अवस्थामा फेला परेको थियो ।

प्रहरी अनुसन्धानको गति सुस्त:
पछिल्लो समय उर्लाबारीमा स्थानीयवासी र व्यवसायीहरू प्रहरीको सुस्त कार्यशैलीप्रति आक्रोशित छन् । गत माघ २१ गते भएको चोरीपछि प्रहरी अनुसन्धान सक्रिय नहुँदा पुनः अर्को ठूलो चोरी भएको उनीहरूको भनाइ छ । व्यवसायीहरूका अनुसार उर्लाबारीमा सुरक्षा व्यवस्था कमजोर भएकाले अपराधीहरू निडर बनेका छन् ।

लगातार भएका ठूला चोरी घटनापछि स्थानीयवासीले सुरक्षा व्यवस्था कडा पार्न माग गरेका छन् । उनीहरूले सहरमा सीसीटीभी निगरानी बढाउन,राति गस्ती प्रणालीलाई प्रभावकारी बनाउन र चोरी घटनामा संलग्न अपराधीलाई छिटो पक्राउ गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।

यता उर्लाबारी प्रहरीले दुवै चोरी घटनाको अनुसन्धान भइरहेको बताएको छ । प्रहरीले चाँडै अपराधी समातिने दाबी गरेको छ तर लगातार भएका यी घटनाले स्थानीय व्यवसायीमा डर र असुरक्षाको भावना बढाएको छ ।

चोरीका यस्ता घटनाले उर्लाबारीका व्यवसायीहरूलाई चिन्तित बनाएको छ । उनीहरूले चोरी नियन्त्रण गर्न प्रभावकारी उपाय अपनाउन आग्रह गरेका छन् । यदि सुरक्षा व्यवस्थामा सुधार नगरेमा व्यवसाय सञ्चालन गर्न कठिन हुने उद्योग वाणिज्य संघ उर्लावारीका अध्यक्ष तारमान सिरिङ लिम्बूले बताए ।

सुरक्षा व्यवस्था बलियो बनाउन प्रहरी प्रशासनले तुरुन्तै कडा कदम चाल्नुपर्ने स्थानीयको माग छ । व्यवसायी तथा स्थानीय नागरिकहरूको चासोलाई मध्यनजर गर्दै प्रहरीले चाँडै ठोस कदम नचाल्ने हो भने उर्लाबारीमा चोरीका यस्ता घटनाहरू दोहोरिने सम्भावना उच्च देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय