बेलबारी (मोरङ) — मोरङको बेलबारी नगरपालिका–१० स्थित भाउन्ने मैदानमा ‘न्यु इयर ईभ २०८२ भाउन्ने लाइभ इन कन्सर्ट’ हुने भएको छ। नयाँ वर्ष २०८२ लाई स्वागत गर्न आयोजना गरिएको सो कार्यक्रम आइतबार साँझ ६ बजेबाट सुरु हुनेछ।

डाँगिहाट फुटबल क्लबको आयोजनामा हुन लागेको कन्सर्टमा नेपालका ख्यातिप्राप्त गायक गायिकाहरू एकदेव लिम्बु, बबिना किराती, मेचु धिमाल, कृष्णभक्त राई, लक्ष्मी पौडेललगायत कलाकारहरूले सांगीतिक प्रस्तुति दिनेछन्। साथै, मोडल दिकिला शेर्पाले विशेष नृत्य प्रस्तुत गर्नेछिन् भने स्थानिय द्रब्य व्यान्डको समेत लाइभ प्रस्तुति रहनेछ।

आयोजक क्लबका अध्यक्ष छत्र लिम्बुले करिब ४ हजार दर्शकको सहभागिता हुने अपेक्षा गरिएको जानकारी दिए। कन्सर्टको टिकट दर रु २ सय मात्र तोकिएको छ। करिब १७ लाख रुपैयाँ लागत अनुमान गरिएको कन्सर्टबारे जानकारी दिन शनिबार पत्रकार सम्मेलन गरिएको थियो।

“पूर्वी नेपालमा यति धेरै कलाकार समेटेर आयोजना गरिन लागेको यो पहिलो कन्सर्ट हो,” अध्यक्ष लिम्बुले भने, “सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रममार्फत समुदायमा रौनक थप्ने हाम्रो प्रयास हो।”

सन् २०६६ मा स्थापना भएको डाँगिहाट फुटबल क्लबले यसअघि तीन संस्करणमा ‘भाउन्ने गोल्डकप’ समेत आयोजना गरिसकेको छ। क्लबले फुटबलका अतिरिक्त सामाजिक तथा युवा लक्षित कार्यक्रम पनि गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय