उर्लाबारी । ‘स्वास्थ्यका लागि खेलकुद, खेलकुदका लागि १ घण्टा’ भन्ने नाराका साथ सुरु भएको तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ ।
आज भएको अन्तिम क्वाटरफाईनल खेलमा आयोजक ‘उर्लाबारी रातो’ ले टाईबेकरमा कन्काई भेट्रान्स क्वललाई हराउदै सेमिफाईनल प्रवेश गरेको हो ।
खेलको ३७ औ मिनेटमा उर्लाबारी रातोका टेक बहादुर कटुवालले वान भर्सेस वानको अवस्थामा पाएको बललाई कन्काईका गोल रक्षक किरण बरुवालाई विट गर्न सक्दा गोल गर्ने सुनौलो अवसर गुमेको थियो ।
पुर्व राष्ट्रिय खेलाडीहरु सम्मिलित उर्लाबारी रातोका लागि खेलको ४६ औ मिनेटमा डेनि राईले कन्काईका गोलरक्षक किरण बरुवालाई विट गर्दै जाली चुमाएका थिए ।
यस्तै खेलको ४९ औ मिनेटमा डेनिले डिबक्स एरिया नजिकबाट प्रहार गरेको बल कन्काईका गोल रक्षक बरुवाले उत्कृष्ठ बचाउ गर्दा उर्लाबारीले थप गोल गर्ने मौका गुमाएको थियो ।
निकै नै प्रतिष्पर्धात्मक रहेको क्वाटरफाईन खेलमा कन्काईका लागि खेलको १७ औ मिनेटमा दिल कुमार कार्कीले गरेको प्रहार गोलपोष्ट माथीबाट बाहिरिन पुग्न कन्काईले गोलको खाता खोल्ने सुनौलो अवसर गुमाएको थियो ।
पहिलो हाफमा केही दवावमा रहेको कन्काईले दोस्रो हाफमा लय पक्रिदै खेलमा फर्किदा उर्लाबारीमाथी दवाव सृजना गरेको थियो ।
दोस्रो हाफमा एक पछि अर्को गर्दै लगातार उर्लाबारीको गोलपोष्टमा प्रहार गरेको कन्काईले खेलको ४६ औ मिनेटमा पाएको कर्नर किकको अवसरलाई कन्काईका विनोद वान्तवाले प्रहार गरेको गोललाई उर्लाबारीका गोल रक्षक राजेन्द्र धिमालले पञ्च गर्दै उत्कृष्ठ बचाउ गरेका थिए ।
यस्तै खेलको खेलको ५४ औ मिनेटमा कन्काइले कर्नर किकको अवसर पायो, कन्काईका दिल कुमार कार्कीले प्रहार गरेको कर्नर बललाई पप्पु तामाङले सदुपयोग गर्दै गोलपोष्टको दिशा दिएपछि खेल १–१ को अवस्थामा पुगेको थियो ।
यस्तै खेलको ५६ औ मिनेटमा कन्काईका पप्पु तामाङले वान भर्सेस वानको अवस्थामा पाएको बललाई उर्लाबारीका गोल रक्षक धिमाललाई विट गर्न नसक्दा कन्काईले थप गोल गर्ने अवसर गुमाएको थियो ।
निर्धारित ६० मिनेटको खेल दुवै टिमबाट १–१ गोलको बराबर सकिएपछि थप गरिएको अतिरिक्त २ मिनेट समयमा पनि दुवै टिमबाट गोल हुन सकेपछि खेलको अन्तिम नतिजा टाईबेकरबाट गरिएको थियो ।
टाईबेकरमा उर्लाबारी रातोका लागि निर्मल तामाङ, संजिव बुढाथोकी, विनोद लामा, प्रदिप राईले गोल गरेका थिए । कन्काईका महेश प्रेकरले प्रहार गरेको बल गोलपोष्टमा ठोक्किएर रिवाउण्ड भएको थियो भने नर्वु लामाले कन्काईका लागि गोल गर्दा कन्काईकै खेलाडी बाबुलाल हस्ताले प्रहार गरेको बललाई उर्लाबारीका गोलरक्षक धिमालले बचाउ गरेका थिए ।
यो सगै ‘उर्लाबारी रातो’ ले ४–२ गोल अन्तरले कन्काईलाई हराउदै दमक भेट्रान्स लखनपुर सगको सेमिफाइनल भेट पक्का गरेको हो ।
‘उर्लाबारी रातो’ का लागि उत्कृष्ठ खेल प्रस्तुत गर्दै सेमिफाइनल प्रवेशको ढोका खोलेका धिमाल आजको खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद १ हजार १ सय र ट्रफी हात पारे । धिमाललाई कार्यक्रमका प्रमुख अथिती अरनिको अस्पतालका अध्यक्ष लोलिम पोमुले पुरस्कृत गरे ।
भोलिको पहिलो सेमिफाईनल खेल आयोजक उर्लाबारी निलो र चारपाने युनाईटेड भेट्रान्स फुटबल क्लवका विचमा हुने आयोजकले जनाएको छ ।
कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका गरी १० टिमको सहभागितामा संचालन भईरहेको प्रतियोगिताको फाइनल खेल बैशाख ६ गते हुने क्लबका अध्यक्ष दिपक पोमुले बताउनु भयो ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार र उपविजेताले ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका कोषाध्यक्ष विक्रम चापागाईले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय