डान्सलाई जीवनको सपना बनाएका २२ वर्षीय जिब्रेल आलम अहिले नेपालका सडक-सडकमा आफ्नो कला देखाउँदै सामाजिक सेवामा जुटिरहेका छन्। भारतको सिलगुडी निवासी आलमले विगत दुई महिनादेखि विभिन्न शहरका चोकहरूमा स्ट्रिट डान्स गर्दै संकलित रकम असहाय, अपाङ्ग र गरिबहरूलाई सहयोग गर्दै आएका छन्।

अलिकति फरक सपना बोकेका आलमले भारतको चर्चित रियालिटी शो ‘डान्स दिवाना’मा प्रतिस्पर्धा गरे पनि दोस्रो चरणमा पुगेर बाहिरिए। तर उनले हार मानेनन्। हारलाई अवसरमा बदल्दै सडकलाई आफ्नो मञ्च बनाएर समाजसेवाको नयाँ यात्रा सुरु गरे।

आलम भन्छन्, “सडक मेरो स्टेज हो, दर्शक मेरो प्रेरणा। म नाच्छु, रमाउँछु, अनि संकलित रकम ती अनुहारहरूमा मुस्कान फेरि फर्काउन प्रयोग गर्छु जसको जीवन अँध्यारोमा डुबेको छ ।”

उनको यात्रामा साथ छन् इटहरी–१४ का पप्पु हरिजन। हाल यो जोडी उर्लाबारीमा चोकदेखि बजारसम्म र दमकदेखि विराटनगरसम्म नाच्दै, र सहयोग संकलन गर्दै अघि बढिरहेको छ। शुक्रबार उर्लाबारीमा उनले नृत्य देखाए र केहि सहयोगार्थ रकम संकलन गरे ।

आलमले टिकटक, युट्युब र फेसबुकमार्फत आफ्ना नृत्य तथा सहयोगका दृश्यहरू नियमितरूपमा अपलोड गर्ने गरेका छन्। उनका भिडियोहरूले हजारौं युवालाई नृत्यमार्फत समाज सेवा गर्न सकिन्छ भन्ने सन्देश दिइरहेका छन्।

 

“डान्स मेरो जीवन हो, र सेवा मेरो उद्देश्य। अबको २–३ वर्ष यस्तै यात्रामा बिताउनेछु। त्यसपछि फेरि कुनै ठूलो रियालिटी शोमा फर्कनेछु ।” आलम आत्मविश्वासका साथ भन्छन्।

नेपालको काठमाडौं, धरान, विर्तामोड, दमक, विराटनगर हुँदै उर्लाबारीसम्मको यात्रामा उनले नाचमार्फत थुप्रै हृदय जितेका छन्। दमकमा रहेका उनका केहि साथीहरूले समेत आवश्यक समन्वय र सहयोग प्रदान गरिरहेको उनी बताउछन् ।

यस्तै उनले आफ्नो हालसम्मको यात्रामा करिव ६० हजार रकम स्ट्रिट डान्सबाट संकलन भएको र उक्त रकम असहायलाई सहयोग समेत गरिसकेको बताउछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय