
उर्लाबारी, असार ४ । मोरङको उर्लाबारी–७ स्थित श्री राधिका माध्यमिक विद्यालयका एक शिक्षकमाथि विद्यालयका बालिकामाथि यौन दुर्व्यवहार गरेको गम्भीर आरोप लागेपछि ती शिक्षकले आन्तरिक रूपमा राजीनामा दिएको खुलासा भएको छ ।
बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत जेठ ३० गते वडा नं. ७ का विभिन्न विद्यालयमा गरिएको नियमित अनुगमनको क्रममा विद्यार्थीहरुले अनुगमन टोलीसमक्ष आफूमाथि विगतदेखि हुँदै आएको यौनजन्य दुर्व्यवहारबारे खुलासा गरेका थिए ।
अनुगमन टोलीले विद्यालयमा पुगेर बालबालिकासँग अन्तरक्रिया गर्दा कक्षा ‘ङ’ भन्दा माथि पढ्ने केही बालिकाहरुले सोही विद्यालयका एक शिक्षकले विगत दुई वर्षदेखि आफूहरूलाई यौनजन्य व्यवहार गर्दै आएको बताएका थिए ।
विद्यार्थीहरूको अनुसार, शिक्षकले गोप्य अंग छुनु, औलाले चलाउनु, कक्षा बन्द गरेर राख्नु, फरक खोल्न लगाउनु, भुइँमा सुत्न बाध्य पार्नु, मानसिक दबाब दिने प्रश्नहरू सोध्नु तथा कहिलेकाहीँ पिट्ने जस्ता गतिविधिहरू गर्दै आएका थिए ।
विद्यार्थीका भनाइ समेटेर अनुगमन टोलीले लिखित प्रतिवेदन नगरपालिकामा बुझाएको थियो । उक्त प्रतिवेदनपछि उर्लाबारी नगरपालिकाले आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई प्रक्रिया अघि बढाउन पत्र सहित मेल मार्फत जानकारी दिएको जनाएको छ ।
तर जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख ईन्द्र देव यादवले घटनाबारे कुनै जानकारी नभएको बताए । उनले भने– “यो ईस्यु मलाई थाहा भएन सम्वधीत निकायमै बुझ्नु होस न….ल ।”
तर, घटना सार्वजनिक भएको पाँच दिन बितिसक्दा समेत आरोपित शिक्षकमाथि अनुसन्धान प्रक्रिया सुस्त भएको भन्दै स्थानीय नागरिक समाज, अभिभावक तथा अगुवाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
यसैबीच, घटनापछि आरोपित शिक्षकले असार २ गते विद्यालयमा राजीनामा बुझाएको र विद्यालयले उक्त राजीनामा स्वीकृत गरिसकेको विद्यालयका प्रधानाध्यापक सुवास सापकोटाले जानकारी दिएका छन् ।
आरोपित शिक्षक झापा जिल्ला दमक नगरपालिका स्थायी निवासी हुन्। उनी राधिकामा निम्न माध्यमिक तहको दरबन्दीमा कार्यरत थिए ।
स्थानीय बासिन्दा र नागरिक समाजले शिक्षकको राजीनामा मात्र पर्याप्त नभई कानुनी प्रक्रिया शीघ्र अघि बढाइनुपर्ने र पीडित बालिकाहरूको सुरक्षा तथा न्याय सुनिश्चित गर्न राज्य गम्भीर रूपमा लाग्नुपर्ने माग गरेका छन् ।



