
उर्लाबारी, असार ४ । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित राधिका माध्यमिक विद्यालयमा कार्यरत एक शिक्षक ले विद्यालयका बालिका विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि प्रहरी अनुसन्धान सुरु भएको छ।
पीडित पक्षले इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी दिएपछि बुधबारदेखि औपचारिक अनुसन्धान प्रक्रिया अघि बढाइएको हो। प्रहरी निरीक्षक रञ्जन बरालका अनुसार श्रेष्ठ थर भएका ती शिक्षकविरुद्ध बाल यौन दुर्व्यवहारसम्बन्धी मुद्दा दर्ता भइसकेको छ।




प्रारम्भिक अनुसन्धानका लागि सई चुणमणि पौडेलको नेतृत्वमा टोली खटाइएको प्रहरी स्रोतले जनाएको छ। हालसम्म आरोपी शिक्षक फरार रहेको र खोजी तीव्र पारिएको प्रहरीको भनाइ छ। “यो बालबालिकासँग सम्बन्धित गम्भीर अपराध भएकाले अनुसन्धानमा कुनै ढिलासुस्ती हुने छैन,” निरीक्षक बरालले बताए।
घटनाप्रति स्थानीय राजनीतिक दलहरू, सामाजिक संघसंस्था, बाल अधिकारकर्मी तथा अभिभावकहरूले गम्भीर चासो व्यक्त गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गर्दै दोषीलाई कडा कानुनी कारबाहीको माग गरेका छन ।
प्रहरीले घटनासम्बन्धी थप विवरण संकलन गर्दै अनुसन्धान प्रक्रिया अघि बढाइरहेको छ।