
मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ ।
गाउँपालिकाको १६ औँ गाउँसभाले नीति तथा कार्यक्रम र कुल ७९ करोड ९२ लाख ४९ हजार ८ सय ७० रुपैयाँ बराबरको बजेट प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको हो ।
गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपद लगायतको विषयलाई समेटेर नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित भएको छ ।
पालिकाले प्रस्तुत गरेको बजेटमा आन्तरिक आयतर्फ १० करोड ६२ लाख ६८ हजार ८३० रुपैयाँ, राजस्व बाँडफाँडबाट प्राप्त हुने आयतर्फ १३ करोड १२ लाख १ हजार ५०६ रुपैयाँ, स्थानीय स्रोतबाट मालपोत, विज्ञापन कर, नदीजन्य पदार्थ उत्खनन आदिबाट १३ करोड ९८ लाख १० हजार ६३ रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त हुने राजस्वबाट सवारी कर तथा मूल्य अभिवृद्धि कर मार्फत झण्डै १ करोड ५५ लाख रुपैयाँ र संघीय सरकारबाट प्राप्त अनुदानबाट वित्तीय समानीकरण, सशर्त, समपुरक र विशेष अनुदानसहित समेटिएको छ ।
बजेटमा संघीय सशर्त अनुदान चालुतर्फ २३ करोड ६० लाख र संघीय वित्तीय समानीकरण अनुदानतर्फ ११ करोड २५ लाख विनियोजन गरिएको छ । यस वर्ष जनसहभागिता, अन्य अनुदान र जिल्ला समन्वय समितिबाट प्राप्त सहयोग मार्फत पनि विकास गतिविधिमा टेवा पुर्याउने लक्ष्य लिइएको छ ।
उपाध्यक्ष पौडेलले सार्वजनिक सेवाको गुणस्तर अभिवृद्धि गर्ने, पूर्वाधार विकासमा प्राथमिकता दिने र समावेशी योजनाको कार्यान्वयनमा जोड दिने बताउनुभएको छ। सभामा उपस्थित प्रतिनिधिहरूले प्रस्तुत बजेट र योजनालाई सराहना गर्दै सुझाव तथा धारणा राखेका थिए ।
सभा सदस्यहरुको सुझावसहित सर्वसम्मत बजेट पारित भएको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबीकुमार राईले जानकारी गराउनुभयो ।



