
बेलबारी, असार १६ । बेलबारी नगरपालिकामा असार १२ गते घटेको एक विवादास्पद घटनालाई लिएर स्ववत्र नागरिक समूहले प्रेस विज्ञप्ति जारी गर्दै नगरपालिकाको प्रशासनिक व्यवस्थाप्रति गम्भीर प्रश्न उठाएका छन् ।
उक्त घटनाले बेलबारी मात्र नभई देश–विदेशसम्म चर्चा पाएको भन्दै उनीहरूले नगरपालिकालाई सत्यतथ्य उजागर गर्न पत्रकार सम्मेलन मार्फत अपिल गरेका छन्।
विज्ञप्तिमा विगत केही महिनायता लेखापालसहित केही कर्मचारीहरूद्वारा देखिएको गैरजिम्मेवार कार्यशैली, ढिलासुस्ती र सेवाग्राहीमाथिको तिरस्कारपूर्ण व्यवहारप्रति व्यापक जनगुनासो आइरहेको जनाइएको छ । नगरपालिकाको लेखा फाँटका कारण उपप्रमुख तथा वडाध्यक्षहरूले अघि सारेका योजनाहरूसमेत प्रभावित भएको दाबी गरिएको छ ।
उपप्रमुख नितु थापा कोइरालाले असार १० गते लेखा प्रमुख धनमाया राइलाई विभिन्न शिर्षकमा भएका खर्चहरुको विवरण माग गरेपछि लेखाप्रमुख राईले हिसाव हेर्न नमिल्ने बताएपछि कोइराला र राईविचको बिवाद चुलिदै जादा असार १२ गते सोही विवादलाई लिएर प्रमुख प्रशासकिय अधिकृत संजय कुमार राजलवट बुझ्न जादा प्रहरीद्वारा बाटो प्रशासकिय अधिकृतका कार्यकक्षमा प्रवेश गर्न रोक लगाएपछि विवाद झनै चर्किएको थियो ।
सोही क्रममा नगरप्रमुख दिलप्रसाद राईले नागरिकका कुरा सुन्नु भन्दा पनि विवादित कर्मचारीको पक्षमा लागेर हस्तक्षेप गरेको विषयमा पनि स्वतन्त्र नागरिक समाजले विज्ञप्ती मार्फत असन्तुष्टि व्यक्त गरेको छ ।
नागरिक समूहले प्रमुख प्रशासकीय अधिकृत र नगरप्रमुखले जनप्रतिनिधिको हैसियतबाट जिम्मेवारी लिनुका सट्टा दोष अरु कर्मचारीमाथि थोपार्ने प्रवृत्तिको विरोध गरेको छ ।
यस्तै नागरिक समाजले नगरपालिकाको आर्थिक पारदर्शितामाथि पनि प्रश्न उठाएको उठाउदै २०७९/८० मा परीक्षण प्रयोगशालाका लागि खर्च भएको ५५ लाख रुपैयाँको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नभएको, हालसम्म १६ करोडभन्दा बढी खर्च भइसकेको अवस्थामा आगामी वर्षमा तलब बाहेकको खर्च धान्न कठिन हुने प्रक्षेपणले नगरको बजेटीय पारदर्शितामाथि पनि प्रश्न उठाएको विज्ञप्तिमा उल्लेख छ ।
नगरपालिकाका केही कर्मचारीको रवैयाका कारण कार्य वातावरणमै संस्थागत फूट देखिन थालेको आरोप लगाउँदै स्वतन्त्र नागरिक समूहले यसप्रति नगर नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
विज्ञप्तिमा सानो समस्यालाई अराजकताको रूपमा चित्रित गर्ने र प्रहरी परिचालन गर्ने प्रवृत्तिलाई आलोचना गर्दै नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतले दोहोरो छलफलमार्फत जनचासोका विषयहरूमा तत्काल कारबाही गर्न माग गरिएको छ ।
स्वतन्त्र नागरिक समूहले शान्तिपूर्ण वातावरणमा जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीबीच विश्वासको सम्बन्ध कायम गर्न, पारदर्शिता बढाउन र जनगुनासोमा इमानदार सुनुवाइ गर्न नगर नेतृत्वसँग जोडदार माग गरेका छन् ।



