दिलीप पोखरेल/ उर्लाबारी
उर्लाबारी बहुमुखी क्याम्पसको शनिबार सम्पन्न निर्वाचनमा प्रगतिशील संयुक्त गठबन्धनले बहुमत ल्याएको छ।

निर्वाचन परिणामअनुसार महेन्द्र कार्की (ख) , जीवन घिमिरे, केदार चौहान, दिलकुमारी बस्नेत, टिका अधिकारी, नगेन्द्रबहादुर घिमिरे र मिलन दाहालसहित ८ जना प्रगतिशील गठबन्धनबाट विजयी भए। उता संयुक्त लोकतान्त्रिक गठबन्धनबाट मुक्ति न्यौपाने, हरिबाबु दाहाल, योगेन्द्रबहादुर कटुवाल, विष्णु गुरागाई, प्रेम डाँगी, रेवती सुवेदी र दीपक भट्टराई गरी ७ जना निर्वाचित भए।

निर्वाचन प्रकृयाबाट ३८ सदस्यीय समितिमा १५ जना चयन भएका हुन्। उर्लाबारीमा सकृय राजनितिक दलहरु गठबन्धन प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका थिए। लोकतान्त्रिक गठबन्धनमा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र संघीय लिम्बुवान पार्टी सहभागी थिए भने प्रगतिशील संयुक्त गठबन्धनमा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एस) सहभागी रहेका थिए ।

निर्वाचन परिणामअनुसार लोकतान्त्रीक गठबन्धनका उम्मेद्वार मुक्तिप्रकाश न्यौपानेले सर्वाधिक मत हाँसिल गरेका छन् । उनले ३ सय ३३ मत प्राप्त गरे ।

यस्तै डा. हरिबाबु दाहालले ३ सय २९ ,योगेन्द्र कटुवाल (गोपाल) ले ३ सय २० , प्रेम डाँगी २ सय ९९, रेवत सुवेदी २ सय ८२, दिपक भट्टराई २ सय ५४, टिका प्रसाद अधिकारी २ सय ५४, दिलकुमारी बस्नेत २ सय ४४, विष्णु गुरागाई २ सय ४१, महेन्द्र कार्की (ख) बघ सय ३१, जीवन कुमार घिमिरे २लसय २५, नगेन्द्र बहादुर घिमिरे २ सय २४, तारा श्रेष्ठ २ सय २४, मिन प्रसाद दाहाल (मिलन) २ सय २१ र केशर बहादुर चौहान (केदार) २ सय २० मत प्राप्त गरेका छन् ।

निर्वाचित सदस्यमध्ये मुक्तिप्रकाश न्यौपाने, डा. हरिबाबु दाहाल, प्रेम डाँगी र मिलन दाहाल हालका क्याम्पस संचालक समितिका सदस्य हुन् ।

के अब बहुमत हासिल गरेको प्रगतिशील गठबन्धनले सहजै क्याम्पस सञ्चालक समिति नेतृत्व लिनेछ कि फेरि अध्यक्ष र उपाध्यक्ष जस्ता महत्वपूर्ण पदमा भागबण्डाको राजनीति मौलाउनेछ ? यो गम्भिर प्रश्न खडा भएको छ । किनकि उर्लाबारीमा राजनितिक भागबण्डामा दलहरुले एकातिरबाट दिएर अर्कोतिरबाट लाभ लिन सक्ने सहजै आकलन गर्न सकिन्छ ।

सन्दर्भ हो, आसन्न उर्लाबारी खानेपानी उपभोक्ता समितिको निर्वाचन । खानेपानीको पद बाँडफाँड सर्वसम्मत ढंगले मिलाउने चलन रहीआएको छ । यसबाट कतै क्याम्पस नेतृत्वमा पनि यस्तै शक्ति–सन्तुलनको खेल हुनेसक्ने अनुमान सहजै गर्न सकिन्छ।

अहिलेको बहुमतले नेतृत्वलाई स्थिरता दिन्छ कि फेरि भागबण्डा सम्झौता मात्रै दोहोरिन्छ ? यो त अब होर्न र सुन्न बाँकी नै छ । उर्लाबारीको यो रोचक विषय हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय