उर्लाबारी, २ असोज । भनिन्छ, समुदायसँगै सास फेर्ने संस्थाले कठिन समयमा हात बढाउँदा पीडामा परेकाहरूलाई आशाको किरण मिल्ने गर्छ । यही भावनासहित उर्लाबारीस्थित अरनिको हस्पिटलले सामाजिक उत्तरदायित्वअन्तर्गत उर्लाबारी नगरपालिका–९ को वडा कार्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा २४ गतेको तोडफोड र आगजनी पश्चात वडा कार्यालयमा भएको क्षतिले स्थानीय सेवाप्रवाहमा असहजता बढेको थियो । उक्त अवस्थालाई सम्बोधन गर्न हस्पिटलका अध्यक्ष लोलीम पोमु र सचिव रञ्जित पोमुले नयाँ कम्प्युटर तथा प्रिन्टर वडाध्यक्ष नरबहादुर मोक्तानलाई हस्तान्तरण गर्नुभयो ।
यसअघि पनि अरनिको हस्पिटलले ईलाका प्रहरी कार्यालय उर्लाबारीलाई करिब डेढ लाख रुपैयाँ बराबरका सामग्री सहयोग गरिसकेको छ । निरन्तर सामाजिक जिम्मेवारीमा सक्रिय हस्पिटलका अध्यक्ष पोमुले “समुदायलाई आवश्यकताअनुसार सहयोग गर्ने अभियानलाई अझ सशक्त रूपमा अघि बढाइनेछ” भन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वडाध्यक्ष मोक्तानले सहयोगप्रति आभार प्रकट गर्दै भन्नुभयो–वडाको सेवाप्रवाह सहज बनाउन यो सहयोग निकै महत्त्वपूर्ण हुनेछ, संकटमा साथ दिने हातले हामीलाई हौसला दिएको छ।”
वडा कार्यालयको पुनर्निर्माण र कार्यालय पुनः स्थापना एक मिसाल बनेको छ । यस घटनाले नेपाली समाजमा सहयोग र एकताको महत्त्वलाई पुनः जागरुक गरेको छ । यदि यस्तो ऐक्यबद्धता र जिम्मेवारीका साथ काम जारी रह्यो भने, वडा कार्यालय मात्र नभएर नेपालका अन्य क्षतिग्रस्त स्थानहरू पुनः बनाइनेछन् र नयाँ जनादेशका साथ राष्ट्रको भविष्य उज्जवल हुनेछ । हामी सबै मिलेर राष्ट्रको निर्माणमा योगदान पुर्याउन सक्छौं।








