बेलबारी, ७ असोज । मोरङको बेलबारीमा आगामी असोज २६ देखी कार्तीक १ गते सम्म आठौँ सस्करणको ‘बेलबारी आरजु राईस मेजर स्व. एन.बि. रुमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप’ हुने भएको छ ।
एलएक्स सिटी फुटबल क्लब बेलबारीको आयोजनामा हुन लागेको प्रतियोगितामा देशी तथा विदेशी फुटबल टिमको प्रतिनिधीत्व गर्दै ख्यातिप्राप्त ८ टिम सहभागी हुने छन् ।
जहा, आयोजक एल एक्स सिटी फुटबल क्लब, साबिक विजेता झापा–११ फुटबल क्लब झापा, उपविजेता सलहेश युवा क्लब सिरहा, चर्च ब्वाईज युनाईटेड ललितपुर, बि डिभिजन लिग च्याम्पियन प्लानिङ ब्वाईज युनाईटेड, रारा फुटबल क्लब राजारानी धनकुटा, भोजपुर जिल्ला फुटबल सङ्घ भोजपुर, र भारतको लिजेण्ड फुटबल एकेडेमी रहने आयोजक समितिले जनाएको छ ।




प्रतियोगिताको बिजेताले ८ लाख नगद ढेड तोला सुन र ३ केजी चाँदी जडित आकर्षक रनिङ ट्रफी प्राप्त गर्ने छ भने उप विजेताले ४ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी र म्यान अफ द म्याचलाई पनि नगद पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
उद्घाटन शत्रलाई भव्य बनाउन आयोजकले स्थानीय प्रतिभाहरूको सांगीतिक प्रस्तुति, जातीय सांस्कृतिक झाँकी र वृहत् स्काउट मार्चपाससमेत गरिने जनाएको छ ।
खेललाई निष्पक्ष र सुरक्षित बनाउन अन्तर्राष्ट्रियस्तरका रेफ्री, लाइन्सम्यान र एम्पायर परिचालन गरिने तयारी भएको आर्थिक संयोजक शिव राईले जनाएका छन् । सम्भावित दुर्घटना र चोटपटक न्यूनीकरणका लागि स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यावस्थापन गरिनुका साथै सुरक्षा व्यवस्थाका लागि प्रहरी, सशस्त्र प्रहरी, स्थानीय युवा क्लब र सिसीटिभीमार्फत संयुक्त संयन्त्र परिचालन गरिने आर्थिक संयोजक राईले पत्रकार सम्मेलनमा जानकारी दिए ।
साथै राईले प्रतियोगिता संचालनका लागि अनुमानित आम्दानी ७२ लाख रुपैयाँ र खर्च करिब ६३ लाख रुपैयाँको हाराहारीमा पुग्ने अनुमान रहेको बताए ।
प्रतियोगिता संचालनका लागि मुख्य प्रायोजक आरजु राइस मिल र आयोजक एलएक्स सिटी फुटबल क्लबबिच दीर्घकालीन सहकार्यको समझदारी भएको अध्यक्ष विक्रम राईले जानकारी दिएका छन् । उनले राइस मिलले कृषि आधुनिकीकरण र चामल उत्पादनमा आत्मनिर्भरता अभियानसँगै खेलकुद क्षेत्रमा पनि लगानी गर्दै आएको बताए ।
बेलबारी नगरपालिकासहित विभिन्न व्यावसायिक र सामाजिक संस्थाको सहकार्यमा प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्दै उनले यस आयोजनाको उद्देश्य खेलकुदमार्फत मनोरञ्जन, नयाँ खेलाडी उत्पादन, उत्कृष्ट खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउने र खेललाई व्यवसायीकरण गर्ने रहेको स्पष्ट पारे ।
आयोजक समितिले आय–व्यय पारदर्शी रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्दै बेलबारीलाई स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा खेलकुदको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित आठौँ संस्करणको गोल्डकपलाई ऐतिहासिक बनाउन तयारी तीव्र रूपमा अगाडि बढाइएको जनाएको छ ।
मोरङ सदरमुकाम विराटनगर बाहिर हुने यो प्रतियोगिता ठुलो धनराशीको प्रतियोगिता हो। हरेक वर्ष अनवरत रुपमा संचालन हुदै आएको यो प्रतियोगितामा गत वषर्कको उपाधी झापा–११ फुटबल क्लब बिर्तामोडले हात पारेको थियो ।
पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का केन्द्रीय सदस्य दीपेन्द्र धिमाल, मोरङ एन्फाका अध्यक्ष तथा वरिष्ठ प्रशिक्षक सञ्जीव बुढाथोकीलगायत उपस्थित थिए । उनीहरूले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण खेलप्रेमी र समुदायलाई सक्दो सहयोग गर्न अपिल गरेका छन् । पत्रकार सम्मेलनको सञ्चालन राजकुमार श्रेष्ठले गरेका थिए भने पत्रकार सम्मेलन क्लब अध्यक्ष विक्रम राईको अध्यक्षतामा सम्पन्न भएको हो ।





