उर्लाबारी, ९ कात्तिक। अनलाइन ग्यामिङको नाममा नेपाली युवाहरूलाई ठगी गर्ने घटना दिनानुदिन बढ्दै गएको छ। हालै “पोखरा टपअप सेन्टर” नामक फेसबुक पेजमार्फत माछापुच्छ्रे बैंकको क्युआर कोड प्रयोग गरी पब्जी (PUBG)फ्रि–फायर खेलका खेलाडीहरू ठगिएको घटना सार्वजनिक भएको छ।

किशोर तथा नवयुवामाझ अत्यन्त लोकप्रिय यी डिजिटल ग्यामिङ प्लेटफर्मका एजेन्ट भएको दाबी गर्दै सो फेसबुक पेजले विभिन्न आकर्षक अफर र सस्तो दरमा टपअप सेवा दिने विज्ञापन गर्दै आएको थियो। फेसबुकमार्फत “UC” वा “Diamond” खरिद गर्न चाहने युवाहरूलाई सो पेजले पंकज कुमार भगत नामका खाताधारीले माछापुच्छ्रे बैकमा रहेको आफ्नो खाताको क्याुआर कोड पठाएर रकम ट्रान्सफर गर्न लगाउने गरेको पाइएको छ। तर रकम पठाएपछि सो पेजका सञ्चालक सम्पर्कविहीन हुने गरेका छन्।

रत्ननगर–२ टाँडी, चितवनका संगित अधिकारीका अनुसार उनका साथीले शनिबार सो पेजमा देखाइएको सेल अफर अनुसार रकम पठाएपछि ठगिएको अनुभव गरे। उनले पूर्वी प्रेस सँग भने, “मेरो साथीले पब्जीमा UC लिने भनेर माछापुच्छ्रे बैंकको पंकज कुमार भगत नामको खातामा पैसा पठायो। केही मिनेटमै ह्वाट्सएपमा ब्लक भयो र हामीले बुझ्यौं कि यो ठगी हो।”

अधिकारीका साथी, रत्ननगर नगरपालिका–११ बस्ने पौडेल थरका युवकले माछापुच्छ्रे बैंकको खाता नम्बर ०७११००२३४३४०००१२ मा रकम पठाएको पुष्टि गरेका छन्। रकम पठाएको केही समयमै सम्पर्क टुटेपछि उनीहरूले आफूहरू डिजिटल ठगीको सिकार भएको बताएका छन्।

अधिकारी र उनका साथी पौडेल मात्र होइन, पछिल्लो समय नेपाली युवाहरूलाई ग्यामिङ प्लेटफर्मका नाममा नेपाली बैंकहरूकै माध्यम प्रयोग गरी ठग्ने घटनाहरू बढ्दै गएको खुलासा भएको छ।

जानकारहरूका अनुसार, यो नयाँ किसिमको साइबर ठगी हो , जहाँ अब विदेशी बैंक वा डिजिटल वालेटको सट्टा नेपाली बैंकका क्युआर कोड र खाताको प्रयोग हुन थालेको छ। यसअघि ठगहरूले ह्वाट्सएप, फेसबुक र टिकटकमार्फत विदेशी बैंक खातामा पैसा पठाउन लगाउने गरेका थिए। अहिले भने सोही कार्य नेपाली बैंकको माध्यमबाट भइरहेकाले जोखिम झनै बढेको छ।

डिजिटल माध्यममा हुने यस्ता ठगीका घटनाले विशेषगरी युवापुस्तालाई बढी प्रभावित पारिरहेको छ। विज्ञहरूका अनुसार, अनलाइन ग्यामिङमा अत्यधिक संलग्न र आकर्षक अफरमा सजिलै विश्वास गर्ने युवाहरू ठगहरूको मुख्य निशानामा पर्छन्।

यसैबीच, ठगीमा प्रयोग भएको खाताबारे पूर्वी प्रेस ले माछापुच्छ्रे बैंकका केन्द्रीय सूचना अधिकारी सुनिल खतिवडासँग बुझ्दा उनले भने,“हामीले उक्त खाता रोक्का गरेर कानुनी कारबाहीमा सहजीकरण गर्न प्रतिबद्ध छौं।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय