कुमार खड्का,
पथरी, २२ कार्तिक।
मोरङको पथरीशनिश्चरेमा जारी दोस्रो ईन्ट्रा अन्तर्राष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता शनिबार निर्णायक मोडमा पुगेको छ। उपाधिका लागि स्थानीय टिम आयोजक पथरी–११ र सिराहाको सहलेस युवा क्लब आमनेसामने हुँदैछन्।
दुवै टोली अहिले उत्कृष्ट लयमा छन्। एकातिर आफ्नै होमग्राउण्डमा स्थानीय समर्थन र उत्साहजनक दर्शकको जोशका साथ मैदानमा उत्रिँदैछ आयोजक पथरी–११, अर्कोतर्फ निरन्तर उत्कृष्ट प्रदर्शनका कारण चर्चामा रहेको सहलेस युवा क्लब पनि उपाधि कब्जाको लक्ष्यसहित मैदानमा झर्ने तयारीमा छ।
आयोजक पथरी–११ को आत्मविश्वास : डिफेन्स पर्खालजस्तै बलियो
बिहीबार सम्पन्न अन्तिम सेमिफाइनलमा आयोजक पथरी–११ ले राजधानीको पाहुना टोली NRT काठमाडौंलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा सुनिश्चित गरेको थियो।
खेलको २६औं मिनेटमा सौर्य राउतले गोलकिपरबाट रिबाउन्ड भएको बललाई डिबक्स बाहिरबाट हान्दै निर्णायक गोल गरेका थिए।
पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा पथरी शनिश्चरे नगर खेलकुद समितिका संयोजक दीपक राई का अनुसार,
“पथरी–११ को डिफेन्स लाइन अहिलेको मोफसल फुटबलमा सबैभन्दा संगठित देखिन्छ। कप्तानसहित पछाडिको त्रिकोण संयोजन अत्यन्त बलियो छ। सहलेसका स्ट्राइकरलाई गोलको बाटो फोड्न निकै मेहनत गर्नुपर्नेछ।”
राईले थपे, “सहलेसका खेलाडीहरूको खेलअनुभव आयोजकभन्दा लामो र गहिरो छ। उनीहरू ठूला प्रतियोगिताको दबाबमा खेल्न अभ्यस्त छन्, जसका कारण फाइनलमा नयाँ रणनीति र ट्याक्टिक्सका साथ मैदानमा उत्रिने सम्भावना बलियो छ। तर पथरी–११ को डिफेन्स एकजुट र तालमेलयुक्त छ, जसले सहलेसको आक्रमणलाई रोक्न महत्वपूर्ण भूमिका खेल्नेछ।”
उनका अनुसार, “सहलेसको मिडफिल्ड सन्तुलित र पासिङ गेममा निपुण छ। तीव्र सट, सटीक पास र फायर पावर उनीहरूको बलियो हतियार हो। तर आयोजकको कन्सन्ट्रेसन र डिफेन्सी संगठनले खेलको दिशा निर्धारण गर्न सक्छ।”
सहलेसको फायरपावर : आक्रमण नै मुख्य हतियार
सहलेस युवा क्लब सिराहाले सेमिफाइनलमा फिदिमको पाँचथर फुटबल क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो।
उनीहरूको आक्रमणशक्ति र गतिशील खेलशैलीले प्रतियोगिताभर दर्शकको मन जितेको छ।
पूर्व राष्ट्रिय खेलाडी तथा मोरङ जिल्ला फुटबल सङ्घका अध्यक्ष सजिब बुढाथोकी भन्छन् —
     “सहलेसको मिडफिल्ड र फर्वार्ड संयोजन निकै घातक छ। तीव्र पासिङ, बल नियन्त्रण र काउन्टर अट्याकमा उनीहरू निपुण छन्। यदि खेलको प्रारम्भिक मिनेटमै अवसर पायो भने सहलेसले पथरीको बलियो डिफेन्सलाई समेत चुनौती दिन सक्छ।”
तर बुढाथोकीले सहलेसको केही कमजोरी पनि औंल्याएका छन्।
बुढाथोकि थप्छन-“सहलेसका सब्स्टिट्युट खेलाडीहरू अपेक्षाकृत कमजोर देखिएका छन्, जसले दोस्रो हाफमा टोलीको ब्यालेन्समा असर पार्न सक्छ। साथै शहीद स्मारक लिग तयारीका कारण केही महत्वपूर्ण खेलाडी क्लोज क्याम्पमा रहनु पर्ने भएकाले टोलीको तालमेलमा कमी देखिन सक्छ। यही कारणले आयोजक पथरी–११ ले होमग्राउण्डको फाइदा उठाउने सम्भावना बढी भएतापनि , सहलेसको मिडफिल्ड र फिनिसिङ क्षमताले खेलमा निर्णायक क्षण सिर्जना गर्न सक्छ। पथरीको डिफेन्स तोड्न उनीहरूले कस्तो रणनिति अपनाउँछन्, त्यो नै आजको खेलको टर्निङ प्वाइन्ट हुनेछ।”
फुटबल विज्ञहरूको विश्लेषणमा शनिबारको फाइनल रक्षात्मक बनाम आक्रामक फुटबलको रोचक द्वन्द्व हुनेछ।
पथरी–११ को लक्ष्य “क्लिन सिट” कायम राख्दै न्यून गोलमा जित निकाल्ने रहन्छ भने, सहलेस टोली “अर्ली गोल” को रणनीतिमा केन्द्रित हुनेछ भन्ने अनुमान गरिएको छ।
पुरस्कार र तयारी:
प्रतियोगिताका विजेताले रु. ५ लाख र उपविजेताले रु. २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।फाइनल खेल शनिबार दिउँसो २:३० बजे पथरीशनिश्चरे–१, जातेमोडस्थित प्रस्तावित रंगशालामा हुने भएको छ।
आयोजक क्लबका अध्यक्ष सुमन विक का अनुसार, “फाइनल खेललाई भव्य, शान्तिपूर्ण र खेलमैत्री वातावरणमा सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा गरिएको छ ।
यस्तै क्लबका सचिव केसर राई भन्छन्- ” स्थानीय दर्शकहरूको असाधारण उत्साहले फाइनललाई अझ रोमाञ्चक बनाउनेछ। आजको खेलले गोल मात्र होइन, खेलदर्शन पनि निर्धारण गर्नेछ। पथरीको डिफेन्स र सहलेसको आक्रमणबीचको संघर्ष नै आजको गोल्डकपको इतिहास समेट्ने छ ।
फुटबलका विश्लेषकहरूको साझा धारणाका आधारमा हेर्ने हो भने आजको फाइनल खेल “पथरीको ‘आइरन डिफेन्स’ र सहलेसको ‘फायर अट्याक’बीचको द्वन्द्व नै गोल्डकपको मुख्य आकर्षण हुनेछ र अन्ततः कस्ले मार्ला बाजी भन्ने उत्तर मैदानमै तय हुने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय