विराटनगर, कार्तिक २६। स्वास्थ्य तथा चिकित्सा शिक्षाको क्षेत्रमा अनुसन्धान संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले वार्षिक १० लाख रुपैयाँको अनुसन्धान अनुदान कार्यक्रम सुरु गरेको छ ।
देश–विदेशका अनुसन्धानकर्तालाई समेत समेट्दै नोबेलले आफ्नै अनुसन्धान इकाई स्थापना गर्दै सो अवसरमा अनुदानको घोषणा गरेको हो ।
अनुसन्धान इकाईको उद्घाटन नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल कुमार शर्मा र उहाँकी धर्मपत्नी इन्दिरा शर्मा बरालले संयुक्त रूपमा गर्नुभयो । कार्यक्रममा बोर्ड सल्लाहकार सोइना शर्मा, प्राध्यापक, चिकित्सक, विद्यार्थी र कर्मचारीहरूको सहभागिता रहेको थियो ।
अनुसन्धान इकाईका प्रमुख प्रा. डा. गेहनाथ बरालले नोबेलले उपचार र चिकित्सा शिक्षामा स्थापित पहिचानसँगै अब अनुसन्धानमा पनि अग्रणी भूमिका खेल्न लागेको बताउँदै, यो पहलले देशको स्वास्थ्य अनुसन्धान क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
नोबेलका अन्तर्राष्ट्रिय निर्देशक डा. निरन्जन कुमारले विश्वभर स्वास्थ्य क्षेत्रमा अनुसन्धानले ठूलो महत्व पाएको उल्लेख गर्दै, नोबेलले पनि यस क्षेत्रमा प्रभावकारी कदम चाल्न थालेकोमा खुशी व्यक्त गर्नुभयो ।
त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत प्रा. डा. रामहरी घिमिरेले तथ्यपरक र यथार्थमुखी अनुसन्धानमार्फत चिकित्सा स्वास्थ्य क्षेत्रमा योगदान दिनु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमका क्रममा प्राचार्य प्रा. डा. राजेश नेपालले वार्षिक १० लाख रुपैयाँ बराबरको अनुसन्धान अनुदान औपचारिक रूपमा घोषणा गर्नुभयो । यस अन्तर्गत नोबेलमा कार्यरत फ्याकल्टी, चिकित्सक, स्वास्थ्यकर्मी तथा विद्यार्थीका तीन टोली र नोबेल बाहिरका तीन टोली गरी कुल छवटा राष्ट्रिय अनुसन्धान तथा दुई अन्तर्राष्ट्रिय अनुसन्धान परियोजनालाई अनुदान प्रदान गरिनेछ भने, अनुसन्धान इकाईको कार्यविधी अनुसार आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
कार्यक्रमको समापनमा प्रा.डा. विश्वनाथ अधिकारीले शुभकामना मन्तव्य राख्नुभएको थियो । संस्था भित्र र संस्था बाहिर साथै अन्तर्राष्ट्रिय अनुसन्धान कर्ताहरुलाई प्रदान गर्न लागिएको यस प्रकारको अनुसन्धान अनुदान कार्यक्रम प्राइभेट मेडिकल कलेजहरु मध्ये पहिलो भएको श्रोतले बतायो ।
नेपालका दुरदराजका स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविर, विपन्न विरामीहरुको निःशुल्क उपचार देखि आर्थिक विपन्नता भएका जेहनदार विद्यार्थीहरुलाई पारामेडिकल, एम वी वी एस, वी डी एस, वि एस्सी नर्सिङ्ग, वि एन एस लगायतका विषयहरुमा छात्रवृत्ती प्रदान गर्दै आउनु भएका डा. सुनिल शर्माले नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल र काठमाडौं मेडिकल कलेजमा विशेषज्ञ एवं विशिष्ट सेवाहरु निरन्तर रुपमा थप गर्दै स्वास्थ्य सेवालाई गुणस्तरीय सर्वसुलभ रुपमा उपलव्ध हुने व्यवस्था गर्दै आउनु भएको छ ।









