उर्लाबारी, ३१ बैशाख । मोरङको उर्लाबारी नगरपालिका स्थित, उर्लाबारी उद्योग वाणिज्य संघ र सिद्धार्थ क्लिनिक एण्ड प्याथ ल्याब, उर्लाबारी–७ बरगाछीबीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
विहिबार उर्लाबारी उधोग वाणिज्य सघको कार्यालयमा भएको सम्झौता अनुसार उर्लाबारी उद्योग वाणिज्य संघमा आबद्ध व्यवसायी सदस्य तथा आश्रित परिवारले सिद्धार्थ क्लिनिक एण्ड प्याथ ल्याबबाट विभिन्न स्वास्थ्य सेवामा सहुलियत पाउने भएका छन् ।




सम्झौतामा प्रयोगशाला सेवामा २० प्रतिशत छुट, भिडियो एक्स–रे सेवामा १० प्रतिशत छुट तथा ई.सी.जी सेवामा १० प्रतिशत छुट प्रदान गरिने उल्लेख गरिएको छ । साथै अन्य औषधि तथा सेवामा समेत विशेष छुटको व्यवस्था गरिएको उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरेङले बताउनु भयो ।
उक्त सुविधा लिनका लागि संघले प्रदान गरेको स्वास्थ्य सहुलियत परिचयपत्र वा दर्ता सम्बन्धी कागजात पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । यो सम्झौता २०८३ जेठ १ गतेदेखि लागू हुने सिद्धार्थ क्लिनिक एण्ड प्याथ ल्याबका संचालक अजय गौतमले बताउनु भयो ।
सिद्धार्थ क्लिनिक एण्ड प्याथ ल्याबले नवजात तथा बालरोग विशेषज्ञ, वरिष्ठ फिजिसियन सेवा, नाक–कान–घाँटी रोग विशेषज्ञ, छाला तथा यौनरोग विशेषज्ञ, हाडजोर्नी तथा नसारोग विशेषज्ञ, महिला तथा प्रसुति रोग विशेषज्ञ लगायतका सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।
त्यसैगरी साप्ताहिक रूपमा वरिष्ठ मुटुरोग विशेषज्ञ, पेट तथा कलेजो रोग विशेषज्ञ, युरोलोजी तथा मिर्गौला रोग विशेषज्ञ र बाथ रोग विशेषज्ञ सेवा समेत सञ्चालन हुने क्लिनिकले जनाएको छ ।
सम्झौता पत्रमा सिद्धार्थ क्लिनिक एण्ड प्याथ ल्याबका प्रोप्राइटर अजय गौतम र उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारमामान सिरेङले हस्ताक्षर गर्नुभएको छ। सम्झौता कार्यक्रममा वाणिज्य संघका कार्यसमिती पदाधिकारी तथा सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।




