
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले स्थानीय किसानका समस्याका बारेमा मंगलबार संवाद कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा उपस्थित किसानहरुले स्थानीय सरकारसँग उत्साह र उमग्ग भन्दा पनि गुनासै गुनासा मात्र व्यक्त गरेका छन् ।
किसानका समस्या उजागर गर्ने हेतुले आयोजित अन्तरक्रियामा किसानलाई पेन्सनको व्यवस्था, अन्नदातालाई सम्मान, कृषि ऋण सहज ढंगले उपलब्ध, पर्याप्त मलखाद बीउ बीजनको तुरुन्त व्यवस्था र किसानहरूलाई आधुनिक कृषि औजारको व्यवस्था गर्नुपर्ने लगायत माग स्थानिय किसानहरुले राखेका छन् ।
समयमा पानी नपर्ने, बाली लगाएपछि बाढी आउने, बाली हुर्कने बेला मलखाद नपाउने, बैंकले किसानलाई ऋणमा झन्झट गर्ने तथा कृषियन्त्रहरू समेत महंगोमा खरिद गर्नु पर्ने अवस्थाका कारण कयौं किसानहरूले विस्तारै पेशा परिवर्तन गर्न थालेको किसानहरुले गुनासो स्थानिय सरकार समक्ष राखेका छन् ।
कार्यक्रममा भेला भएका किसानहरुको एउटै गुनासो थियो-‘स्थानीय सरकारले हाम्रो उत्पादनलाई भण्डारण र बजारीकरणमा सहयोग गर्नुपर्यो ।’ नगरपालिकाको कृषि शाखाले पशुपालन, मौरी पालन, तरकारी र खाद्य बालीका स्थानीय अगुवा किसानलाई एकै थलोमा जुटाएर मेयर- उपमेयरसंग अन्तरक्रिया गराएको हो ।
कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिदै नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले विषयविज्ञसहितको गुरुयोजना तयार गरी कृषिलाई उत्पादनमुखी, व्यवसायिक र आत्मनिर्भर बनाउने नगरपालिकाको अबको योजना रहेको बताउनुभयो ।



