उर्लाबारी-१ झारसाँदीस्थित शारदा माध्यमिक विद्यालयमा आइसीटी ल्याब हस्तान्तरण एवम् उद्घाटन गरिएको छ । उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले कम्प्युटर प्रयोगशालाको शुक्रबार एक समारोहका बीच उद्घाटन गरे ।
उर्लाबारी नगरपालिका र एसोशिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका (आन्मा)को सहयोग साझेदारीमा कम्प्युटर प्रयोगशाला स्थापना गरिएको हो । ल्याबमा २० वटा कम्प्युटरसहित प्रोजेक्टर, पर्दा, प्रिन्टर्स तथा टेबल र मेच रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख खरेलले कार्यक्रममा मन्तव्य राख्दै सबै मिलेर सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्नु पर्ने बताए। उर्लाबारी नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता दिएर अघि बढेको बताउँदै उनले विद्यालयहरु प्रविधिसँग अपडेट हुँदै जानुपर्ने धारणा राखे।
विद्यार्थीको बहुमुखी प्रतिभाको विकासमा कम्प्युटर शिक्षाको ठुलो मह्त्व रहेको भन्दै यो अवसरलाई अधिकतम प्रयोग गर्न विद्यालय प्रशासनलाई नगर प्रमुख खरेलले सुझाव दिए ।
कार्यक्रममा विशिष्ट अतिथि उर्लाबारी नगरपालिकाका शिक्षा शाखा प्रमुख अशोक घिमिरेले कम्प्युटरको अधिकतम प्रयोग गरी विद्यार्थीमा पुरापुरा ज्ञान भर्न आवश्यक रहेको बताए ।
पहिले कम्प्युटर संख्या कम हुँदा प्रयोगात्मक कक्षा लिन समस्या हुने गरेको भन्दै अब त्यो समस्या समधान भएको शारदा माविका प्रधानाध्यापक सुर्य दाहालले बताए ।कम्प्युटर चलाउन पालो कुुर्नु परेको स्मरण गर्दै उनले अब भने विद्यार्थीलाई सहज हुने गरी कम्प्युटरको व्यवस्था भएको बताए ।
डिजिटल साक्षरता र प्राविधिक विकासमा टेवा पुर्याउने गरी कम्प्युटर ल्याब स्थापनार्थ शैक्षिक क्षेत्र विकासमा सहयोगी भूमिका खेलेकोमा नगरपालिका र आन्मा संस्थालाई प्रअ दाहालले धन्यवाद व्यक्त गरे ।
यसअघि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत उक्त विद्यालयमा १५ वटा कम्प्युटर संचालनमा थिए । कम्प्युटर ल्याब स्थापनार्थ खटिएका आन्मा प्रतिनिधि कुन्दन शर्मा मिश्रलगायत टिमलाई कार्यक्रममा सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवकुमार पाण्डेको सभापतित्व रहेको कार्यक्रममा उर्लाबारी वडा नम्बर १ का वडाध्यक्ष तिलक पाण्डे, वडा सदस्य गौरीशंकर दाहाल, नगर शिक्षा समितिका सदस्य पुर्णप्रसाद घिमिरे, समाजसेवी पदमबहादुर गौतमलगायतको आतिथ्यता रहेको थियो ।
शिक्षक त्रैलोक्य ढकालले संचालन गरेको सो कार्यक्रम उद्घाटन समारोहमा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।