उत्पादन क्षमता कम हुँदै जाँदा अन्नबाली उत्पादनमा ह्रास आएपछि सबै किसानहरुलाई मध्यनजर गरी उर्लाबारी नगरपालिकाले माटो परीक्षण शिविर सञ्चालन गरेको छ । नगरभित्रका कृषिखेतिलाई परिणाममुखि बनाउने अभिप्रायले माटो परीक्षण गर्न शुरु गरिएको हो ।
नगरपालिकाको ९ वटै वडाका किसानबाट माटो संकलन गरी मंगलबारबाट परीक्षण गर्न थालिएको कृषि शाखाका अधिकृत मनिष भट्टराईले जानकारी दिए । माटोको नमुना संकलन परीक्षण निरन्तर हुने भएकाले आफ्नो खेतबारीको माटो परीक्षणका लागि ल्याउन उर्लाबारी नगरपालिकाको कृषि शाखाले कृषकहरुमा आग्रह गरेको छ ।
प्रारम्भमा ६७ जना कुषकबाट प्राप्त माटोको नमुना परीक्षण गरिएको जनाउदै, अधिकृत भट्टराईले बताए —‘निर्वाहमुखी कृषिमा निर्भर किसानलाई व्यावसायिकतर्फ उन्मुख गराउँदै आयआर्जन बढाउन यस्तो माटो परीक्षण थालिएको हो ।’ दिगो कृषि उत्पादनको लागि नगर क्षेत्रभित्रको माटोको पहिचान गरी माटोको गुणस्तरअनुसार खाद्यान्न तथा तरकारी उत्पादन क्षेत्रका रुपमा विकास गरिने उनले जानकारी दिए ।
यस्तै माटो परीक्षण गरिसकेपछि विज्ञको सुझावअनुसार व्यावसायिक रुपमै माटो अनुकूल खेतीपाती लगाउन कृषकलाई सहयोग गर्ने भट्टराईले बताए ।
समस्यायुक्त माटोको अध्ययन विश्लेषण गरी सोको आधारमा नगरपालिकाले कार्यक्रम सञ्चालन गरी कृषि उत्पादन बढाउने कृषि शाखा प्रमुख अम्बिका लुइटेल बताउछन् । परीक्षणका क्रममा माटोमा अम्लियपन निकै बढ्दै गएको पाइएको तथा माटोमा अम्लियपन बढी तथा नाइट्रोजन, पोटास युक्त मलको कमि हुँदा माटोको सुक्ष्म तत्वसमेत नास हुँदै जान थालेको लुइटेलको भनाई छ ।
माटोलाई जीवित राख्नका लागि आवश्यक पर्ने खाद्यतत्वको कमी हुँदै जाँदा र बिरुवाले माटोबाट आवश्यकताअनुसार खाद्य पदार्थ लिन नसक्दा उत्पादनमा कमी हुँदै जान थालेको विज्ञहरुको भनाई छ ।
माटोलाई जीवित राख्दै उत्पादन बढाउनको लागि माटोे परीक्षण गराउँदै प्रांगारिक मलको प्रयोग गर्न अधिकृत भट्टराईले सुझाव दिए ।
कुनै पनि माटोको अम्लीयपना थाहा पाउन वा बिरुवाको पोषक तत्व थाहापाउन साधारणतया जमिनको सतहदेखि १५ देखि २० सेन्टिमिटर तलसम्मको माटो किसानले परीक्षणका लागि ल्याउनुपर्ने भट्टराईले बताए । उनका अनुसार परीक्षणका लागि आधा किलोग्राम माटोको आवश्यकता पर्छ ।