
पथरी/ पथरी शनिश्चरेमा बालिकाकाे हत्या गरेकाे आराेपमा प्रहरीले एक युवकलाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हत्यामा संलग्न रहेकाे आशंकामा माेरङकाे ग्रामथान गाउँपालिका वडा नम्बर ४ का ३८ वर्षीय धीरेन खाँ चौधरीलाई पक्राउ गरिएको हो ।
सोमबार राती करिव साडे १० बजे चौधरीले धारीलो हतियार प्रयोग गरेर खोटाङको ऐंसेलुखर्क गाउँपालिका वडा नम्बर ६ सल्लेकी १५ वर्षीया ज्ञानुमती थुलुङ् राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ गरिएका चौधरी ज्ञानुमतीको प्रेमी भएको बताइएको छ ।




प्रहरीका अनुसार चौधरी र राईबीचबीच प्रेम सम्बन्ध रहेको पाइएको छ। गत असारमा चौधरीले राईलाई भगाएर लगेका थिए। ‘असार १३ गते भगाएर लगेको रहेछ। त्यसरी भगाएको थाहा पाएपछि त्यही दिन प्रहरीले नियन्त्रणमा लिएर किशोरीलाई परिवारको जिम्मामा लगाएको रहेछ,’ प्रहरी स्रोतले भन्यो, ‘अहिले बाराको सिमरा बस्दै आएका चौधरी हत्या गर्नकै लागि योजना बनाएर आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’
राईको हत्यापछि फरार रहेका उनलाई बेलबारीस्थित भाउन्नेकाे जंगलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ७ लामा टोलीस्थित मामाको छोरा विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएकी ज्ञानुमतीको साेमबार राति सुत्नुअघि शौचालय जाने क्रममा बसेकै घरको कम्पाउण्डमा निर्मम हत्या भएको थियो ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। उनी पथरीस्थित पञ्चायत माविमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन् ।