उर्लाबारीमा जारी प्रथम नगरस्तरिय मिस एसईई २०८१ को उपाधि उर्लाबारी ७ की १७ वर्षीया रुमा निरौलाले जितेकी छिन्
शनिबार राती उर्लाबारी पार्टि प्यालेसमा सम्पन्न फाइनलमा निर्णायकले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिदै रुमाले ताज पहिरिएकी हुन् ।
उनले ८ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै मिस उर्लाबारीको उपाधिसँगै मिस ट्यालेन्टको सबटाइटल समेत जितिन् ।
उपाधिसँगै उनले उर्लाबारीस्थित मोरङ मोडेल आवासीय मावि, पशुपती आवासीय मावि र नेपाल दर्शन कलेजमध्ये कुनै एममा आफ्नो ईच्छानुसार शतप्रतिशत छात्रवृत्तीमा अध्ययन गर्ने अवसर पनि पाएकी छिन् । उनी उर्लाबारीस्थित राधिका माध्यमिक विद्यालयमा अध्ययनरत रहदै आएकी छिन् ।
यस्तै उर्लाबारी मिस एसईई २०८१ को फस्ट रनरअप उर्लाबारी वडा नम्बर ४ की विनिता खड्का घोषित भइन् भने सेकेण्ड रनरअप उर्लाबारी -७ की निकिता कटुवाल घोषित भईन् । खड्का र कटुवाल क्रमश: राधिका मावि र पशुपती आवासीय माविमा अध्ययनरत विद्यार्थी हुन् ।यस्तै उनीहरु दुवै जनाले उल्लेखित शैक्षिक संस्थाहरुमा नि:शुल्क अध्ययन गर्ने अवसर प्राप्त गरेका छन् ।
शनिबार साँझ पार्टि प्यालेसमा आयोजित एक भव्य समारोहबिच सो ईभेण्टको फाईनल राउण्ड सम्पन्न भएको थियो । फाईनलमा सहभागी ११ जनामध्ये निर्णायकले ८ जनालाई टप एट राउण्डमा प्रतिश्पर्धीहरुलाई छनौट गरेको थियो ।
उर्लाबारीथित ब्लुम डिजिटल स्टूडियोको आयोजनामा गत वैशाख २४ गतेदेखी सुरु भएको सो ईभेण्टमा १६ जनाले सहभागीता जनाएको ईभेण्ट व्यवस्थापक जिवन चिमरीयाले जानकारी दिए ।
अडिसनबाट छानिएका प्रतियोगीहरुलाई एक महिनासम्म व्यक्तित्व विकास, फेशन, र्याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्कलगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरूबाट प्रशिक्षण दिईएको थियो ।
उर्लाबारीस्थित उर्लाबारी वर्ल्ड एकेडेमीको मुख्य प्रायोजन रहेको सो ईभेण्टको व्यवस्थापन सेन्ट्रल फेसन हब उर्लाबारी शाखाले गरेको थियो ।
एसईई दिएर बसेका छात्राहरुको व्यक्तित्व विकास गरी उनीहरुको उच्च शिक्षामा सहयोग पुर्याउने हेतुले सो ईभेण्ट आयोजना गरिएको फेसन हब उर्लाबारी शाखाका व्यवस्थापक चिमरीयाले जानकारी दिए ।
सो ईभेण्टमा विजेताहरुलाई शतप्रतिशत छात्रवृत्तीको व्यवस्था गरिएको छ भने अन्य सहभागीहरुलाई समेत उच्च शिक्षाको लागि ५० प्रतिशतसम्म छात्रवृत्तीको व्यवस्था गरिने आयोजकले जनाएको छ ।
सो छात्रवृत्ती उर्लाबारीस्थित मोरङ मोडेल आवासीय मावि, पशुपती आवासीय मावि र नेपाल दर्शन कलेजमा उपलब्ध गराईने आयोजक ब्लुम डिजिटल स्टूडियोका संचालक सुदिप भट्टराईले जानकारी दिए ।