दमक नगरपालिकामा नदि कटान रोक्न बाँस पाईलिङ निर्माण गरि तटबन्ध गरिने कार्यलाई तिब्रता दिईएको छ । यसैबिच गत शनिबार वडा नम्बर ४ ताराबारीस्थित मावा खोलामा बाँस पाईलिङ निर्माण गरि तटबन्ध कार्य सम्पन्न भएको छ ।
गत असार २७ गतेदेखी २ सय २९ मिटर लामो पाईलिङ निर्माण कार्य सुरु गरिएको निर्माण कम्पनीले जनाएको छ । मावाको उक्त स्थानसहित अन्य ५ वटा फरक-फरक स्थानमा मावा र रतुवा खोलामा बाँस फाईलिङ निर्माण गरि तटबन्ध गर्ने योजना उर्लाबारी वडा नम्बर ४ स्थित चिसाङ राजारानी निर्माण सेवाले गर्दै आएको छ ।
प्रोपाईटर प्रेम लिम्बुकाअनुसार १÷१ मिटरको दुरीमा ३ वटा पोलको पाईलिङ गरिने उक्त तटबन्ध योजनाअन्तर्गत १० फिट गहिराईमा पोल गाडिनेछ । यस्तै उनले सो प्रकृतिको बाँस पाईलिङले कटानलाई शुन्य बनाउने दाबी गरेका छन् ।
निर्माण सेवाले गत असार २५ गते दमक नगरपालिकासँग सम्झौता गरेको थियो । सम्झौताअनुसार शनिबार सम्पन्न मावाको उक्त पाईलिङसहित विभिन्न स्थानमा गरि जम्मा १ हजार ३ सय ८१ मिटर लामो बाँस पाईलिङ निर्माण कार्य आगामी साउन २० गतेसम्म सक्नुपर्ने निर्माण सेवाका प्रोपाईटर लिम्बुले जानकारी दिए ।
सम्झौताबमोजिम उक्त निर्माण सेवाले वडा नम्बर १० स्थित पाथिभरा मन्दिर छेउ मावा खोलामा २ सय मिटर, रमा वनको नया बाधको छेउमा २सय ७० मिटर, जहदा टोलस्थित मावा खोलामा १ सय मिटर, हर्क धिमालको घरपूर्व मावा खोलामा २ सय ९१ मिटर र गोपाल भट्टराईको घरपुर्व रतुवा खोलामा २ सय ९१ मिटर लामो बेम्बो पाईलिङ निर्माण गर्नुपर्नेछ । जसमध्ये ३ सय ७० मिटर लामो पाईलिङ निर्माण सम्पन्न भईसकेको ठेकेदार लिम्बुले जानकारी दिए ।