
उर्लाबारी-३ मंगलबारेमा जारी दोस्रो वडास्तरीय भेट्रान फुटबल रनिङ कप २०८१ प्रतियोगिताको तेस्रो दिनको खेलमा वडा नम्बर ३ को भेट्रान टीम विजयी भएको छ ।
बुधबार भएको खेलमा वडा नम्बर ३ को भेट्रानले जारी प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत रहेको वडा नम्बर ९ को भेट्रानलाई १-० को अन्तरले हराएको थियो । वडा नम्बर ३ को जितको लागि ४२ औं मिनेटमा जर्सी नम्बर १० का विजय माझीले एक गोल गरेका थिए । आफ्नो उत्कृष्ट खेल प्रदर्शनी गरेको बताउदै आयोजकले उनलाई म्यान अफ दि म्याच घोषणा गरेको थियो ।




सो कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उर्लाबारी वडा नम्बर २ वडाध्यक्ष राजनकुमार कडेँलद्वारा उनी ट्रफीले सम्मानित भएका छन् । यस्तै सो अवसरमा ९ नम्बर भेट्रान टीमलाई आयोजक क्वलको तर्फबाट युवा समाजसेवी रोहित कार्कीले मायाको चिनो प्रदान गर्दै सहभागिताको लागि धन्यवाद व्यक्त गरेका थिए।
उर्लाबारी वडा नम्बर ३ स्थित मंगलबारे भेट्रान क्लबको आयोजनामा संचालन भएको सो प्रतियोगितामा उर्लाबारी नगरपालिकाका ९ वटै वडाका भेट्रान टीमको सहभागिता रहने आयोजक क्लवका अध्यक्ष राजन सुवेदिले बताए ।
‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ सो प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष सुवेदिले बताए।
वडा नम्बर ३ सालबारीस्थित प्रस्तावित सालबारी रंगशालामा मंगलबारदेखी संचालन भएको सो प्रतियोगिताको विजेताले ३० हजार , उपविजेताले २० हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ ।
यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, हाई स्कोरर, वेष्ट गोल किप्पर, वेष्ट डिफेन्डर, वेष्ट कोच, म्यान अफ दी म्याचलगायतका विधाहरुमा खेलाडीलाई सम्मानित गरिने क्लवका सचिव मिलन भट्टराईले जानकारी दिए ।
उर्लाबारी नगरपालिका वडा नम्बर २ र ३ को मुख्य प्रयोजन रहने सो प्रतियोगिताको फाईनल खेल आगामी असोज २२ गते हुने आयोजकले जनाएको छ।
यसैबिच प्रतियोगिताको चौथो दिनको खेल शुक्रबार वडा नम्बर ८ र ५ का भेट्रान टीमबिच दिउसो ३ बजेदेखी संचालन हुने आयोजकले बताएको छ ।
तस्विरहरु: कुमार खड्का/ उर्लाबारी