
दिलीप पोखरेल / उर्लाबारी
उर्लाबारी नगरपालिकालाई सेनेटरी प्याडमा आत्मनिर्भर बनाउने अभियानका साथ महिलाहरुको समुहले संचालनमा ल्याएको महिला विकास सेनेटरी उद्योगले हजारौँ प्याड परिक्षणको क्रममा नि:शुल्क वितरण गर्दै आएको छ ।




उर्लाबारीका ३० जना महिलाहरुको समुहले वडा नम्बर ४ आईतबारेमा २०७९ सालदेखी संचालनमा ल्याएको उक्त उद्योगले हालसम्म उत्पादित २० हजार थान प्याडको सफल परिक्षण गरेको उद्योगकी अध्यक्ष सरस्वती रिजालले बताईन्। उनकाअनुसार पछिल्लो छ महिनामा उर्लाबारी वडाका नौ वटै वडा कार्यालयमार्फत १÷१ सय थानको दरले नि:शुल्क रुपमा परिक्षणको लागि वितरण गरिदै आएको छ ।
यसैबिच शुक्रबार उर्लाबारी वडा नम्बर ३ को कार्यालयमा दोस्रो पटक सो उद्योगले १ सय थान प्याड परिक्षणको लागि वडाध्यक्ष भिष्मराज बुढाथोकीलाई हस्तान्तरण गरेको छ ।
उद्योगकी अध्यक्ष रिजालकाअनुसार उर्लाबारी नगरपालिका र स्थानिय महिलाहरुको साझेदारीमा करिव १५ लाख लागतमा सो उद्योग स्थापना गरिएको हो ।
प्याड उत्पादनको लागि विषयविज्ञ तथा प्राविधिकहरुले आधुनिक प्रविधीको मेसिन प्रयोग गरि उद्योग परिसरमै तालिम दिएको उद्योगकी अध्यक्ष रिजालले बताईन् ।
तालिम प्राप्त पश्चात उत्पादित प्याडहरु सुरुवाती चार महिनासम्म आफैँले प्रयोग गरेर परिक्षण सफल भएको उनले अनुभव सुनाईन् । उनले उद्योग स्थापनाको थप अनुभव बताउने क्रममा भनिन्,” सुरुमा हामीले नगरपालिकामा सिलाईबुनाई तथा कटाई तालिम लिएका थियौँ । यसबाट जोजो आत्मनिर्भर र उद्यमी बन्नुभो, उहाँहरुलाई त सहि सीप भयो, यो महिलाहरुको लागि राम्रो पक्ष हो । तर अन्य हामी जोजो आत्मनिर्भर बन्न सकेनौँ, हामीले एक समुह बनाएर प्याड उत्पादन गर्ने र आत्मनिर्भर बन्न प्रेरीत भयौँ । महिलाहरुको लागि अत्यावश्यक चिजमध्ये प्याड स्वास्थ्यको हिसाबले एक महत्वपुर्ण भएको ठानेर हामी आफैले सुलभ मुल्यमा उच्च गुणस्तरको प्याड उत्पादन गर्ने तयारीमा लाग्यौँ । हामीले नगरपालिकासँगको साझेदारीमा उद्योग संचानलन गर्न सफल भयौँ र अहिले उत्पादित प्याडहरु परिक्षणको लागि नि:शुल्क वितरण गर्दै आएका छौँ ।”
यस्तै उनले उत्पादनको चार महिनापछि गाउघरमा तिन महिनासम्म परिक्षणको लागि नि:शुल्क वितरण गरिएको बताउदै सबैतिरबाट सकरात्मक प्रतिक्रिया आएको बताईन्।
यस्तै उनले उद्योग संचालनको सात महिनापछि मात्रै उर्लाबारीका वडामा नि:शुल्क रुपमा प्याड वितरण गर्न थालेको जानकारी दिईन् ।
सो उद्योगले आफ्नो ट्रेड मार्क नारी राखेको बताउदै उद्योगले थप २ महिनासम्म आफ्नो परिक्षण जारी राख्ने जनाएको छ।
यस्तै उद्योगकी सचिव जोमा तामाङले अगामी माघ पहिलो सातादेखी मात्रै बजारमा विक्रि वितरण गरिने जानकारी दिईन् ।
विभिन्न गुणस्तर र साईजमा उत्पादन हुने ति प्याडहरुको अधिकतम खुद्रा मुल्य(एम.आर.पी.) बजारमा ४० देखी १ सय २५ रुपैयासम्म कायम हुनसक्ने उद्योगकी अध्यक्ष रिजालले बताईन् । उत्पादित प्याडको एक प्याकेटमा ७ थान हुने बताईएको छ ।
यसैबिच सो उद्योगले आगामी माघदेखी हरेक महिना करिव ७० हजार थान प्याड उत्पादन गर्ने बताएको छ । उद्योगकी अध्यक्ष रिजालले बजार विश्लेषण गर्ने क्रममा भनिन्,” समग्र उर्लाबारीमा हरेक महिना करिव ५५ हजार थान प्याड खपत हुने गरेको पाईएको छ । यो भनेको करिव ६० हजार रुपैयाँ हो । यसको अर्थ, हरेको महिना उर्लाबारीबाट सो बराबरको रकम बाहिर गैरहेको छ , अब हामी हाम्रो उत्पादनलाई हरेक घरघरमा लानेछौँ, र नगरको रकम नगर मै रहने गरि उर्लाबारीलाई समृद्ध र आत्मनिर्भर बनाउने अभियानमा लाग्नेछौँ ।”
यस्तै उनले आफ्ना उद्योगका उत्पादित प्याडहरु गुणस्तरिय भएको बताउदै सम्पुर्ण उर्लाबारीबासीमा सहयोग र सहकार्यको लागि अपील समेत गरेकी छिन् ।