
मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिका–१ स्थित आइतबारेमा ‘द टेण्ट टाउण्ड एण्ड होमस्टे’ ले आन्तरीक र बाह्य पर्यटकको ध्यान खिचेको छ ।
करीब १ करोड ५० लाख रुपैयाँको संयुक्त लगानीमा निर्माण भइरहेको यस होमस्टेमा ६ जना युवाहरूको सक्रिय सहभागिता छ । होमस्टेमा पर्यटकको सुविधालाई मध्यनजर गर्दै विविध स्तरका टेन्टहरुको व्यवस्था गरिएको छ । एक रातको बसोबासका लागि न्यूनतम ५ सयदेखि ५ हजार ५ सय रुपैयाँसम्मको दरमा होम टेन्ट, फेमिली टेन्ट र ग्रुप टेन्टको सुविधा उपलब्ध छ ।
समुद्री सतहबाट करिब १,४५० मिटर उचाइमा अवस्थित यो स्थानलाई पूर्वी नेपालको श्रीअन्तु र भेडेटारजस्तै शीतल र रोमान्टिक गन्तव्यको रूपमा विकास गरिँदैछ। वर्षभरि चिसो मौसम, स्वच्छ हावा र रमणीय दृश्यावलोकनको कारण यस क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएको छ ।
यहाँबाट इलामको श्रीअन्तुमा देखिने जस्तै सूर्यउदय र सूर्यास्तको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। साथै, तराईका हरिया फाँटहरू—मधुमल्ला, उर्लाबारी, दमक, बिर्तामोडदेखि इटहरीसम्मको दृश्य पनि सजिलै देख्न सकिन्छ ।
यसअघि मिक्लाजुङ क्षेत्रमा पर्यटकका लागि बसोबासको उचित संरचना अभाव रहेको अवस्थामा ‘द टेण्ट टाउण्ड एण्ड होमस्टे’ले त्यो खाँचो पूर्ति गर्ने देखिएको छ, भने स्थानीय उत्पादनमा आधारित अर्गानिक खानाले पर्यटकको मन जित्ने अपेक्षा लिइएको छ।
उर्लाबारी–किसानचोक–टाँडी–रमीते सडक निर्माणपछि यहाँ पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको स्थानीयवासी बताउँछन्। मधुमल्लाबाट झण्डै १८ किलोमिटर टाढा रहेको यो होमस्टे प्राकृतिक सुन्दरता, शान्त वातावरण र पहुँचयोग्य स्थानको कारणले पर्यटकहरूको नयाँ रोजाइ बन्ने देखिन्छ ।



