दिलीप पोखरेल/ उर्लाबारी
मोरङ्को उर्लाबारी—४ स्थित उर्लाबारी बहुमुखी क्याम्पसको आधिकारीक फेसबुक पेज दुरुपयोग भएको छ ।
बुधबार साँझ एकाएक क्याम्पसको पेजबाट जापानमा अध्ययन र रोजगारीको लागी अवसरसम्बन्धि सेतु ईडियु वल्ड एण्ड ट्रेनिङ् सेन्टर, दमकको विज्ञापन पोष्ट भएपछि चौतर्फी विरोध भएको छ ।
यसैबिच उक्त पोष्टको विषयलाई लिएर अनेरास्ववियु( क्रान्तिकारी) विद्यार्थी संगठनका मोरङ् जिल्ला अध्यक्ष समेत रहेका क्याम्पसकै विद्यार्थी नगेन्द्र घिमिरेले आपत्ती जनाएका छन् । उनले आक्रोश व्यक्त गर्दै प्रश्न गरे”क्याम्पसले हुँदा हुँदा अब कमिसन खाने भाडाे समेत बनाएको हो ? कि क्याम्पसमा शिक्षाको गुणस्तर नभएको भन्दै विद्यार्थीहरुलाई विदेशको आशा देखाउन थालेको हो? ” उनले सामुदायिक क्याम्पसले त्यस्तो विज्ञापन गर्नु लजास्पद भएको बताउदै उक्त पोष्ट तुरुन्त हटाई क्याम्पस प्रशासनले यसबारे आधिकारिक धारणा दिनुपर्ने बताए ।
यस्तै क्रान्तिकारीका मोरङ् जिल्ला उपाध्यक्ष समेत रहेका सरोज किरातीले क्याम्पसको पेजबाट त्यस्तो पोष्ट आउनु क्याम्पस प्रशासनको ठूलो कमजोरी भएको बताए । उनले क्याम्पसको पेज चलाउने कमिसन खोर कर्मचारीहरुलाई तत्काल निलम्बन गर्नुपर्ने धारणा राखे ।
यसैबिच क्याम्पस प्रमुख वेदराज भट्टराईले उक्त पोष्ट क्याम्पसका कर्मचारीहरुबाट नगरिएको दाबी गरे । उनले सामुदायिक क्याम्पसको गरिमामा आँच पुग्ने खालका पोष्टहरु भुलेर पनि क्याम्पसका कर्मचारीबाट नगरिने बताए । उनले भने,” क्याम्पसको पूर्व कर्मचारी तेजन दुलालले बनाएको उक्त फेसबुक पेजको एड्मिन उनी स्वयम् पनि हुन् । पक्कै उनीबाटै भएको हुनुपर्छ ।” उनले दुलालले जागिर छोडेर गएपनि एड्मिनबाट नहटेको बताए । पटकपटक हट्न आग्रह गरेपनि नमिल्ने भन्दै दुलाल स्वयम् एड्मिन कायमै रहेको क्याम्पस प्रमुख भट्टराईले बताए ।
यसैबिच उक्त विषयलाई लिएर सेतु ईडियुका संचालक समेत रहेका दुलालले भुलबस् उक्त पोष्ट क्याम्पसको पेजबाट गरिएको स्विकारेका छन् । उनका अनुसार आफ्नो कार्यालयको सोधपुछ कक्षको कम्युटरमा लगइन् रहेको आफ्नो फेसबुक आईडि उक्त पेजको समेत एड्मिन रहेकाले उक्त विज्ञापन आफनो कर्मचारीबाट भुलबस भएको स्विकारेका छन् । उनले भने,” कार्यालयकी वहिनीलाई सेतु ईडियुको पेजमा विज्ञापन हाल्न भनेको थिए तर भुलबस क्याम्पसको पेजमा समेत पोष्ट भएछ, अहिले हटाएको छु ।”
उनले आफ्नो फेसबुक अकाउन्टलाई क्याम्पसको पेजको एड्मिनबाट हटाउन पटकपटक गरेको प्रयास असफल बनेको बताए । उनले चाडै यस सम्बन्धि विज्ञ प्राविधीकसँग परामर्श गरी आफ्नो अकाउन्ट पेजको एड्मिनबाट हटाउने बताए ।