उर्लाबारी नगरपालिकाको १० औं नगरसभाको अवसरमा पत्रकार, कर्मचारी र कृषकलाई पुरस्कृत तथा सम्मान गरिएको छ । सोमबार सम्पन्न नगरसभामा विकास पत्रकारिता पुरस्कार कुमार खड्का र क्रियाशील पत्रकारिता पुरस्कार दिलिप पोखरेललाई प्रदान गरिएको छ । पुरस्कारको राशी क्रमश: २५ हजार र २० हजार रुपैयाँ रहेको छ ।

पुरस्कृत पत्रकारहरुलाई नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीलगायतले पुरस्कृत गरेका थिए ।

यस्तै, उर्लाबारीकै पत्रकार दुर्गाप्रसाद भट्टराईलाई पनि सम्मान गरिएको थियो । नगरपालिकाले आर्थिक वर्ष ०७९ – ८० मा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै वडा नम्बर ७ का वडा सचिव विश्वनाथ दाहाल, नगरपालिकामा कार्यरत सहायक पाचौँ कविता ढुंगाना र कार्यालय सहयोगी लालबहादुर तामाङलाई जनही २५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ । यस्तै नगरपालिकामा कार्यरत सहायक चौंथो तेजकुमारी थापालाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।

यस्तै, विभिन्न विधामा उत्कृष्ट कृषक घोषणा गरी नगरभित्रका किसानहरुलाई पुरस्कृत गरिएको छ । नगरपालिकाले कृषि क्षेत्रको १२ विधामा १२ जना उत्कृष्ट कृषकलाई जनही नगद १५ हजार रुपैयाँ प्रदान गरेको छ । यसरी पुरस्कृत हुनेहरुमा तरकारी बालीतर्फ दधिराम शर्मा धमला, खाद्यान्न बालीतर्फ गीताप्रसाद आचार्य, फलफूल बालीतर्फ नारायणकुमार थापा, तेलहन बालीतर्फ हरिप्रसाद लामिछाने, मौरीपालनतर्फ दीपेन्द्र थापा, च्याउ खेतीतर्फ यदुनारायण घिमिरे, घाँस खेतीतर्फ कुवेर ढुंगाना, कुखुरा पालनतर्फ खड्गबहादुर कार्की, बाख्रा पालनतर्फ राजिव खड्का, माछा पालनतर्फ झमक श्रेष्ठ, गाईपालनतर्फ खडीबहादुर गुरुङ र बङ्गुर पालनतर्फ डम्बर राई रहेका छन् ।

असार ९ गतेदेखि सुरु भएको उर्लाबारी नगरपालिकाको नगरसभामा आर्थिक वर्ष ०८० –०८१ का लागि नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेलले प्रस्तुत गरेको बजेटलाई पारित गरि समापन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय