नेकपा एमालेका तत्कालिन महासचिव जननेता स्वर्गीय मदन भण्डारीको ७२ औं जन्मजयन्ती उर्लाबारीमा एक कार्यक्रम गरी मनाइएको छ ।
उर्लाबारी-३ मंगलबारेस्थित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि समेत रहेका प्रतिष्ठानका निवर्तमान अध्यक्ष तथा नेकपा एमाले स्थायी कमिटी सदस्य गुरु बरालले जननेता भण्डारीको वैचारिक पक्ष र आजको सामाजिक सांस्कृतिक रुपान्तरण, राष्ट्रिय पुँजीको विकासबाट आर्थिक रुपान्तरण र जननेताले देखाएको बाटोको सान्दर्भिकताका बिषयमा परिचर्चा गरेका थिए ।
यस्तै उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले मदन भण्डारी नरहेपनि उनको दर्शन, सिद्धान्त र योगदान यो मुलुकका लागि अविस्मरणीय रहेको बताए । उनले मुलुकको राजनीति, कम्युनिस्ट आन्दोलन र नागरिकहरुसँग राजनीतिक दल र नेताहरुको सम्बन्धका बारेमा मदन भण्डारीले दिएका सन्देशहरु महत्त्वपूर्ण भएको बताउँदै तिनै सन्देश र मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई व्यवहारमा उतार्ने गरी पार्टी कमिटीहरु परिचालन हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा कोशी प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपाने, उर्लाबारी नगरपालिका उपमेयर मीना खतिवडा पौडेललगायतले जननेता मदन भण्डारीले मुलुकको कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।
प्रतिष्ठानका कार्य समिति सचिव अग्नि भट्टराईले संचालन गरेको कार्यक्रममा एमाले उर्लाबारीका अध्यक्ष गंगाप्रसाद बास्तोला, नेतृ लक्ष्मी भण्डारीलगायतको आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रम अघि प्रतिष्ठान परिसरको बाटिकामा रहेको जननेताको शालिकमा मेयर, उपमेयर लगायत एमालेका नेता गणहरुले पुष्पगुच्छा अर्पण गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रोमनाथ ओलीको अध्यक्षता रहेको थियो ।