काठमान्डौ, २१ कार्तिक । एनआर क्रेशनले गायक नरेश रेग्मीको नयाँ गीत ‘तिम्रै हुँ म’ सार्वजनिक गरेको छ। रेग्मीकै स्वर रहेको उक्त गीतको म्यूजिक भिडियोमा स्वयं गायक रेग्मी र चर्चित अभिनेत्री प्रेंका कार्कीले अभिनय गरेका छन्।
‘म सास बन्न पाए तिम्रो मुटुसम्म पुग्थे’ बोलको गीतबाट अपार सफलता हासिल गरेका रेग्मीले त्यसयता प्रत्येक वर्ष नयाँ गीत बजारमा ल्याउँदै आएका छन्।




नयाँ गीतमा वामदेव रेग्मीको शब्द, प्रकाश रेग्मीको संगीत तथा मौसम हिमालको निर्देशन रहेको छ। भिडियोमा फरक कथावस्तु प्रस्तुत गरिएको छ। अभिनेत्री प्रेंका कार्कीका अनुसार, यस गीतको भिडियो उनका अघिल्ला कामहरूभन्दा बिल्कुलै फरक बनेको र आफूले निकै मेहनत गरेकोले परिणाम सन्तोषजनक आएको बताइन्।
गायक तथा मोडेल नरेश रेग्मीले पनि गीत नयाँ पुस्ताको मनमुटुमा बस्न सक्ने खालको बनेको भन्दै आशा व्यक्त गरेका छन्। उनका अनुसार, ‘तिम्रै हुँ म’ आधुनिक युवा पुस्ताको प्रेमकथा झल्काउने गीत हो।
https://youtu.be/OBQ_EOZ53gE?si=rif_KjAO_9ehMv-a
सानै उमेरदेखि संगीतमा रुचि राख्दै आएका रेग्मी दुई दशकदेखि सांगीतिक यात्रामा सक्रिय छन्। उनले यसअघि पनि दर्जनौँ गीतमा स्वर दिएका साथै म्यूजिक भिडियोमा अभिनय गरेका छन्।
दाङमा जन्मिएका रेग्मी हाल अष्ट्रेलियामा बस्दै आएका छन्। विदेशमा रहे पनि उनी हरेक वर्ष मातृभूमि र युवा पुस्तालाई समेट्ने गीत बजारमा ल्याउने गर्छन्।




