उर्लाबारी-३ मंगलबारे स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई नेपाली कांग्रेस वडा नम्बर ३ समितीले १ सय थान डेँगु सेरोलोजी किट हस्तान्तरण गरेको छ ।
पछिल्लो समय अस्पतालमा डेँगु जाँच गराउन आउनेहरुको संख्या बढेसँगै अस्पतालमा उक्त किट अभाव हुन थालेको जानकारी पाएपछि कांग्रेस वडा समितिले किट खरिद गरेर बिहिबार अस्पताललाई हस्तान्तरण गरेको नेपाली कांग्रेसका नेता सोमप्रसाद तिम्सीना( राम) ले जानकारी दिए ।
आज अस्पतालमा एक कार्यक्रमबिच कांग्रेस वडा सभापति रोहित कार्की र तरुण दल वडा सभापति जितेन लिम्बुको नेतृत्वमा अस्पतालका सुचना अधिकारी निराजन पौडेल, ल्यावका ईन्चार्ज डेञ्जु राई र अस्पताल प्रशासनका नासु प्रकाश ढुंगानालाई संयुक्त रुपमा उक्त किट हस्तान्तरण गरिएको हो ।
अस्पतालका सुचना अधिकारी निराजन पौडेलका अनुसार दैनिक अस्पतालमा २ सयको संख्यामा डेँगुका लक्षणसँग मिल्दोजुल्दो ज्वरोका बिरामीहरु उपचारको लागी आउने गरेकोले डेँगु जाँच्ने किट अभाव हुन थालेको जानकारी दिए । ‘ दैनिक शंकास्पद केसहरु आउने गरेकोले अस्पतालमा किट अभाव छ, डेँगु महामारी सरह फैलिएकोले हामीलाई थप किट आवश्यक रहेको छ। ” पौडेलले बताए, ‘ अस्पताललाई यो महामारीमा किट उपलब्ध गराउन स्थानिय, प्रदेश र कन्द्रिय सरकार, सरोकारवाला निकाय, सामाजिक संघ संस्था लगायतले ध्यान दिनुपर्ने अवस्था आएको छ ।’
यसैबिच अस्पतालमा किट अभाव भएसँगै किट सहयोग गर्न अस्पतालले सम्पूर्ण सरोकारवाला व्यक्ति तथा निकायहरुसँग अपिल गरेको बताईएको छ ।