दिलीप पोखरेल/ उर्लाबारी
उर्लाबारी- ३ मंगलबारे स्थित मदन भण्डारी स्मृती प्रतिष्ठान नेपालको २२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त अवसरमा सम्पन्न प्रतिष्ठानको कार्यसमिती सह सचिव पदको निर्वाचनमा दमकका खोमप्रसाद बगाले थापा निर्वाचित भएका छन् ।
गत वैशाख १८ मा सम्पन्न प्रतिष्ठानको २१औँ चुनावि साधारण सभामा सह सचिव बाहेकका अन्य सम्पर्ण पदाधिकारीहरु सर्वसम्मत निर्वाचित भएका थिए । सहसचिवमा दमकका थापा र उर्लाबारीका रुद्र बहादुर तामाङ्गको उम्मेद्वारी पर्दा सर्वसम्मत हुन नसकेपछि निर्वाचन समितीले आगामी साधारण सभामा निर्वाचन गर्ने जनाएको थियो । सोहि कार्यतालिका बमोजिम आईतबार उक्त पदमा निर्वाचन गरिएको निर्वाचन समितीका सयोजक अधिवक्ता गणेशराज लुँइटेलले जानकारी दिए । जम्मा ३ सय ३५ सदर मतमध्ये थापाले १ सय ९५ मत प्राप्त गरे भने तामाङ्गले १ सय ४० मत मात्र प्राप्त गरेको निर्वाचन समितीले जनाएको छ ।
निर्वाचन समितिले नव निर्वाचित बगालेलाई आजै प्रमाण पत्र वितरण र पद तथा गोपनियताको सपथ ग्रहण गराएको थियो ।
प्रतिष्ठानको संग्राहालयस्थित प्राङ्गणमा आयोजित उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथी पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोईरालाले पानसमा बत्ती बालेर गरेका थिए । प्रा .डा. कोईरालाले आफ्नो मन्तव्य राख्ने क्रममा प्रतिष्ठानले नेपालमा प्रविधिक शिक्षाको जग हाल्ने काम गरेको बताउदै उनले प्रतिष्ठानले गुणस्तरिय शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादन गरी राज्यलाई प्राविधिकमय बनाउन योगदान पुर्याएको चर्चा गरे । उनले निकट भविष्यमै प्रतिष्ठानलाई थप शैक्षिक कार्यक्रमहरु संचालनको लागी अनुमति दिने बताउदै संस्थाको उन्नयन र सफलताको शुभकामना व्यक्त गरे ।
साधारणसभामा प्रतिष्ठानका सचिव अग्निप्रसाद भट्टराईले सचिवको प्रतिवेदन र नीति तथा कार्यक्रम, कोषाध्यक्ष होमबहादुर थापाले आर्थिक प्रतिवेदन तथा आ.व. २०८०/०८१ को बजेट प्रस्तुत र लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उक्त अवसरमा प्रतिष्ठानले एक÷एक जना उत्कृष्ट उप प्राध्यापक, प्रशिक्षक र उत्कृष्ट कर्मचारी, ५ जना उत्कृष्ट विद्यार्थी र एक÷एक जना उत्कृष्ट ऋणी र सफल व्यवसायिक कृषि समुहलाई सम्मान समेत गरेको छ ।
संस्थाको उन्नयनमा पुर्याएको योगदान र कार्य सम्पादन मुल्याङ्कनको आधारमा स्कूल अफ नर्सिङ्की प्रिन्सपल रन्जना डाँगी, मदन भण्डारी कलेज अफ इन्जिनियरिङ्का उप प्राध्यापक इ. मनिष यादव र मुख्य कार्यालयकी प्रशासन उप सहायक पुष्पा भण्डारी पुरस्कृत भएका थिए।
यस्तै उत्कृष्ट नतिजा हाँसिल गर्न सफल विद्यार्थीहरु क्रमश: सिवानी रञ्जितकार, सागर आचार्य, तिला हाङ्मा फ्याक, सरद मगर र सुजित घिसिङ्लाई सम्मान गरिएको थियो ।
त्यसैगरी लक्षित वर्ग शैक्षिक ऋण( उपहार) कार्यक्रमतर्फ उत्कृष्ट ऋणी दिपिका श्रेष्ठ र सफल व्यवसायिक कृषि समुहतर्फ जय श्रीराम एग्रो फर्म रंगेली पुरस्कृत भएका थिए ।
त्यस्तै उक्त अवसरमा प्रतिष्ठानको भिडियो प्रतिस्पर्धामा प्रथम, द्वितिय र तृतिय भएका विद्यार्थीहरु क्रमश: टेवन कार्की, सृर्जन पौडेल र समिक्षा सिवाकोटी लगायत अन्य सहभागीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।
उनीहरु सबैलाई प्रमुख अतिथी प्रा.डा. कोईरालाले नगद तथा सम्मान पत्रले पुरस्कृत गरेका थिए ।
१ सय ८८ जना आजिवन सदस्य रहेका उक्त प्रतिष्ठानमा जम्मा ८ सय १ जना सदस्य रहेका छन् ।
प्रतिष्ठानका कार्यसमिती अध्यक्ष रोमनाथ ओलीको अध्यक्षतामा सम्पन्न उक्त सभामा महिला उपाध्यक्ष सुमित्रा भण्डारीले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रम संचालन कार्यसमिती सचिव अग्निप्रसाद भट्टराईले गरेका थिए ।