राजनीतिक दलको कार्यक्रममा शिक्षकले सहभागिता जनाएको भन्दै अरु पार्टी समर्थक शिक्षकको उछितो काढ्दै अएको दलका नेता नै शिक्षण पेशामा रहेको पाइएको छ ।

घण्टी छाप राष्ट्रिय स्वतन्त्र पार्टी उर्लाबारीले केही दिनयता स्थानीय राधिका मावि उर्लाबारी ६ मा कार्यरत शिक्षक प्रेमप्रसाद भट्टराईको व्यक्तिगत तहमै ओर्लिएर विरोध जनाउदै आएको छ ।

शिक्षक भट्टराई एमालेको सभामा भाग लिन तेह्रथुमको बसन्तपुर पुगेको भन्दै रास्वपाका कार्यकर्ता र समर्थकले सामाजिक संजालमा चर्को विरोध मात्रै गरेका छैनन्, उर्लाबारी नगरपालिका कार्यालय अगाडी विरोध प्रदर्शनसमेत गरे ।

कतिसम्म भने ‘कि बन शिक्षक कि नेता, नबन दुईवटा’ भन्दै घण्टीका कार्यकर्ताले नगरपालिका गेट अगाडी प्लेकार्ड बोकेर धर्ना समेत कसे । तर, एउटा दल विशेषको ओत लागेर विरोध प्रदर्शनको अगुवाई गर्ने व्यक्ति नै शिक्षण पेशामा रहेको खुल्न आएको छ ।

रास्वपा उर्लाबारी नगर समितिका अध्यक्ष रहेका उमेशजंग थापा झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएको पाइएको हो । उनी सो क्याम्पसको आइटी विषयका प्राध्यापक हुन् ।

शिक्षकले राजनीति गर्नु हुँदैन भन्दै अरुलाई औला तेर्स्याउने सामुदायिक क्याम्पसका प्राध्यापक उमेशजंग थापाहरुले चाहीँ राजनीति गर्न विशेषाधिकार पाएका हुन् ? सर्वत्र प्रश्न खडा भएको छ ।

यसैगरी सो पार्टीका मोरङ जिल्ला उपाध्यक्ष समेत रहेका भरत कँडेलपनि एक निजी विद्यालयमा कार्यरत छन् । कडेल उर्लाबारी – ३ स्थित शुभकामना बोर्डिङका शिक्षक हुन् । सामान्यत: निजी शिक्षण संस्थाका शिक्षकको हकमा राजनीतिक संलग्नता ऐन नियमले वर्जित नगरेपनि नैतिक रुपमा अक्षम्य नै मान्नुपर्ने हुन्छ ।

जसले त्यहीँ पेशाको हवाला दिएर अरुमाथि प्रश्न तेर्साउछ, उस्तै पेशामा रहेको आफुचाहिँ ऐन नियमको छिद्र देखाएर उम्कन पाउँछ भन्ने सवालै रहँदैन ।

तस्विरहरु: फायल फोटो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय