ललितपुरको बालकुमारीमा शुक्रबार प्रदर्शन गर्नेक्रममा दुई युवकको मृत्यु भएको विरोधमा शनिबार युवाहरुले झापाको दमकमा विरोध प्रदर्शन गरेका छन् ।

राष्ट्रिय झण्डा हातमा लिई प्रदर्शनमा आएका राष्ट्रिय बचाउ अभियान नेपाल तथा सचेत नागरिक समूहले प्रहरीको गोली लागी दुई युवकको मृत्यु भएको घटनाको विरोध गर्दै विभिन्न नारावाजीसहित गृहमन्त्री र प्रधानमन्त्रीको राजिनामा माग गरेका थिए ।

कार्यक्रममा अभियानका काेशी प्रदेश संयाेजक दुरन राईले राज्यको ज्यादती अब असह्य भएको बताउदै उनले आन्दोलनका कार्यक्रमहरु देशव्यापी रुपमा गरिने बताएका छन् । राईले भने,” विगतमा जंगलमा बसेर मान्छे मार्थे भने आज सिंहदरबारमा बसेर मार्दैछन्, यसको विरोधमा युवाहरु चुप लागेर बस्दैनौँ । सडकबाट प्रदर्शन गर्छौँ, यिनलाई घरघरबाट या सिंहदरबारबाट निकालेर सडकमा ल्याएर सजाय दिने संकल्पका साथ प्रदर्शनमा उत्रीएका हौँ । ” यस्तै उनले आगामी फागुन १ मा हुने जनविद्रोहमा सरिक हुन समेत आग्रह गरेका छन् ।

यस्तै सो कार्यक्रममा प्रमुख वक्ताका रुपमा मन्तव्य राख्ने क्रममा अभियान्ता समिर कुँईकेलले विभिन्न कालखण्डमा गरिएका आन्दोलनले व्यवस्था परिवर्तन गरेर ल्याएको गणतन्त्र आज जनता मार्ने हतियार भएको बताउदै देशमा लोकतन्त्र नै सकिएको धारणा व्यक्त गरे । उनले भने, “रोजगारीको लागि कोरिया जान पाउ भन्दा यो देशको गुण्डा सरकारले युवाहरुलाई सडकमा गोली ठोक्छ भने युवाहरु मौन बस्दैनौँ, अब आन्दोलन देशव्यापी गर्छौँ ” ।

यस्तै उनले उत्पिडित वर्गको लागी, देश र जनताको लागी आफु शहीद हुन समेत तयार रहेको बताउदै राज्यविरुद्धको आन्दोलनमा अब पछि नहट्ने संकल्प गरे । उनले भने, ” देशमा ज्यादती बढ्यो अब देश बचाऔँ, बरु सबैले राजनितिक दलका झण्डा त्यागौ र जनता भएर आन्दोलनमा सरिक बनौँ। ” यसका साथै उनले केहि व्यक्तिहरुले देश चलाईरहेको र व्याजदर बढाईरहेको बताउदै व्यवसायीहरुलाई सटर बन्द गरेर आन्दोलनमा उत्रीन समेत आह्वान गरेका छन् ।

शुक्रबार पानीजहाज बनाउने कामका लागि कोरिया भाषा परीक्षा दिएका तर फेल भएका युवाहरुले पुन: भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै ललितपुरको बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रहरीले गोली लागेर दुई युवकको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय