दिलीप पोखरेल/ उर्लाबारी
दमक नगरपालिका वडा नम्बर ४ ताराबारीस्थित मेची इन्डष्ट्रिज लिमिटेडले तीन वटा अन्तर्राष्ट्रिय आई.एस.ओ. प्रमाणपत्र प्राप्त गरेको छ।
कम्पनिले शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै गुणस्तर व्यवस्थापन, वातावरणीय व्यवस्थापन तथा व्यावसायिक स्वास्थ्य एवं सुरक्षा व्यवस्थापन प्रणालीअन्तर्गत तीन वटा प्रमाणपत्र प्राप्त गरेको जनाएको छ ।




कम्पनीले गत असार १८ गते आईएसओ ९००१:२०१५ (गुणस्तर व्यवस्थापन प्रणाली), आईएसओ १४००१:२०१५ (वातावरणीय व्यवस्थापन प्रणाली) तथा आईएसओ ४५००१:२०१८ (व्यावसायिक स्वास्थ्य तथा सुरक्षा व्यवस्थापन प्रणाली) का अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणपत्र हासिल गरेको थियो ।
उक्त आईएसओ प्रमाणपत्रहरू आई.ए.एफ. अन्तर्गतकाअन्तर्राष्ट्रिय मान्यता प्राप्त निकायमार्फत जारी गरिएका हुन् ।

कम्पनीका अध्यक्ष पवन घिमिरेकाअनुसार व्यवस्थापन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुदृढ बनाउने दीर्घकालीन रणनीतिअन्तर्गत प्राप्त उक्त प्रमाणपत्रले गुणस्तर, संस्थागत सुशासन, वातावरणीय उत्तरदायित्व तथा सुरक्षित कार्य वातावरणप्रतिको कम्पनीको प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाएको छ।
साथै, कम्पनीका व्यवस्थापन प्रणाली विश्वव्यापी रूपमा स्वीकार गरिएका मापदण्डअनुसार प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको पुष्टि भएको उनले बताए ।
जारी प्रेस विज्ञप्तीमार्फत कम्पनीले विश्वव्यापी औद्योगिक प्रतिस्पर्धाको वर्तमान परिवेशमा आईएसओ प्रमाणपत्रलाई केवल प्राविधिक उपलब्धि मात्र नभई संस्थाको विश्वसनीयता, व्यवस्थापकीय क्षमता, जोखिम व्यवस्थापन, कानुनी अनुपालन तथा दीर्घकालीन दिगोपनको महत्वपूर्ण सूचकका रूपमा हेरिने उल्लेख गरेको छ। सो उपलब्धिले ग्राहक, व्यावसायिक साझेदार, वित्तीय संस्था, नियामक निकाय तथा अन्य सरोकारवालाको विश्वास थप मजबुत हुने विश्वास व्यक्त गरिएको छ।
सो अवसरमा कम्पनीका अध्यक्ष घिमिरेले उक्त प्रमाणपत्र संस्थागत मूल्य, अनुशासन र उत्तरदायित्वको अन्तर्राष्ट्रिय मान्यता भएको बताए। उनले भने, “हामीले गुणस्तरलाई उत्पादनमा, वातावरणीय जिम्मेवारीलाई प्रत्येक निर्णयमा तथा कर्मचारीको स्वास्थ्य र सुरक्षालाई प्रत्येक कार्यप्रक्रियामा समाहित गरेका छौं। यही सोचले हामीलाई आजको उपलब्धिसम्म पुर्याएको हो। आगामी दिनमा पनि निरन्तर सुधार, नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप व्यवस्थापन प्रणालीलाई अझ सुदृढ बनाउँदै ग्राहक, साझेदार तथा समाजप्रतिको विश्वासलाई अझ मजबुत बनाउनेछौं।”
कम्पनीले आगामी दिनमा पनि व्यवस्थापन प्रणालीको निरन्तर सुधार, वातावरणमैत्री औद्योगिक अभ्यास, व्यावसायिक स्वास्थ्य तथा सुरक्षा प्रवर्द्धन तथा गुणस्तरीय उत्पादन एवं सेवामार्फत राष्ट्रिय औद्योगिक विकासमा थप योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ।
उक्त कम्पनीले तीनवटै अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्तिसँगै कम्पनी विश्वस्तरीय व्यवस्थापन प्रणाली अवलम्बन गर्ने नेपाली उद्योगका रूपमा थप स्थापित भएको विश्वास व्यक्त गरेको छ।
हाल दैनिक ६ हजार थान ब्लक ईटा उत्पादन गर्दै आएको सो कम्पनीको इटहरी, उर्लाबारी, दमक , विर्तामोड , ताप्लेजुङ र फिदिम लगायतका स्थानहरुमा डिलरहरु संचालनमा रहेका छन् ।
यसअघि सो इन्डष्ट्रिजले सर्वसाधारणलाई जारी गर्न लागेको आईपीओका लागि संस्थागत परामर्श तथा निष्कासन र बिक्री प्रबन्धक सेवाको जिम्मा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई दिएको थियो । सो कम्पनीले प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ दरका १५ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने तयारी गरेको छ ।
मेची इन्डष्ट्रिजमा बालुवा, सिमेन्ट र चुनमा आधारित अटोक्लेभ्ड एरेटेड कङ्क्रिट (एएसी) ब्लक उत्पादन गरिन्छ। उक्त ब्लकहरू हलुका, वातावरणमैत्री तथा परम्परागत इँटाको विकल्पका रूपमा प्रयोग हुने गर्दछन्। सो कम्पनीको वार्षिक उत्पादन क्षमता २१ लाख ९० हजार थान रहेको छ ।

उच्च चापयुक्त बाफ प्रविधि( जर्मन प्रविधि) बाट तयार हुने उक्त ब्लकहरू ताप र आगो प्रतिरोधी हुन्छन् ।




