
उर्लाबारी नगरपालिका मातहतका स्वास्थ्य संस्थाका सम्पूर्ण डाटालाई डिजिटलाईज्ड गरिने भएको छ । राजघाट स्वास्थ्य चौकी, वडाका आधारभुत स्वास्थ्य केन्द्र र आयुर्वेद औषधालयमा ढड्डालाई विस्तापित गरी डिजिटल प्रविधिबाट रेकर्ड राखिने भएको हो ।
यसका लागि उर्लाबारी नगरपालिकाले ती स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली सफ्टवेयर सञ्चालन तालिम प्रदान गरेको छ ।




हिजो र आज नगरपालिकाको सभाहलमा सञ्चालित तालिममा १४ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको स्वास्थ्य शाखा प्रमुख सुरेश खड्काले जानकारी दिए ।
सो तालिममा गेट्वे सर्भिस एण्ड टेक्नोलोजी प्रालिका सञ्चालक विकासजंग कार्की र अमृत कार्कीले सहजीकरण गरेका थिए। तालिममा सफ्टवेयर सञ्चालनका सम्बन्धमा प्रयोगात्मक सीप प्रदान गरिएको छ ।
तालिमपछि यसअघि ढड्डामा लेखिँदै आएकोमा अब स्वास्थ्य संस्थाका सबै डाटा सफ्टवेयरमा अपलोड गरिने शाखा प्रमुख खड्काले बताए ।
तालिम उद्घाटन कार्यक्रममा नगर उपप्रमुख मीना खतिवडा पौडेल र प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाले प्रविधिसँगसँगै अघि बढ्नुपर्ने आवश्यकता रहेकोले सफ्टवेयर सञ्चालनको सीप सिकेर व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरेका थिए ।