चितवन, ८ साउन । भरतपुर महानगरपालिका-२९ स्थित नारायणगढ-मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरासँगै बगेर त्रिशूलीमा खसेका दुईवटा बस तथा यात्रुको आज १२ औँ दिन पनि खोजी जारी रहेको छ ।
घटनास्थल सिमलतालबाट घुमाउने हुँदै केदाबारीसम्म शङ्कास्पद वस्तु देखिएपछि दोहोर्याएर खोजतलास गर्न लागिएको हो ।
नेपालको सुरक्षाकर्मी सहित भारतको ‘राष्ट्रिय आपदा मोचन बल-नेशनल डिजास्टर रेस्पोन्स फोर्स’ बाट १२ जनाको प्राविधिक टोलीले संयुक्त खोजतलास गरिरहेको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सो क्षेत्रमा राडरले शङ्कास्पद वस्तु देखाएपछि आज बिहान बाट पुनः खोजतलास थालिएको हो । भारतीय टोलीले धमिलो बेगमा बगेको पानीमा कम काम गरेकाले कठिनाइ भइरहेको जनाउँदै उहाँले शङ्कास्पद वस्तु भएको अनुमानसँगै पुनः सोही ठाउँमा खोजतलास थालिएको बताए ।
यसअघि भेटिएका भनेका २५ शवमध्ये सनाखत नभएका सातमध्येको एक शव यो घटनाभन्दा बाहिरको रहेको खुलेको छ । प्रजिअ यादवका अनुसार पाल्पाकी नदीमा हामफालेकी एक महिलाको सनाखत भएपछि भेटिएका शवको सङ्ख्या २४ मा झरेको छ । तीमध्ये छ जनाको सनाखत हुनसकेको छैन ।
चितवनका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समिति र भारतीय प्राविधिक टोलीबीच शनिबार संयुक्त बैठक बसी आइतबार बिहानदेखि खोजी सुरु गरिएको थियो ।
आइतबारदेखि सोनार क्यामेरासहित खोजी थालेको संयुक्त टोलीले सिमलतालबाट घुमाउने, देवघाट, काभ्रेघाटसम्मको क्षेत्रमा खोजतलास गरिसकेको छ । सनाखत भएका शवमा १६ पुरुषको छ भने दुईवटा महिलाको छ । त्यस्तै सनाखत भएका शवमध्ये १३ नेपाली नागरिकका छन् भने पाँच भारतीय नागरिकका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय