दिलीप पोखरेल/ उर्लाबारी
उर्लाबारीको व्यस्त व्यापारिक केन्द्र उर्लाबारी चोकस्थित मोवाईल वर्ल्डमा सोमबार राती (विहान करिव १ बजे) भएको करिव ४ करोड रुपैयाँ बराबरको चोरी प्रकरणमा प्रहरीले अहिलेसम्म कुनै ठोस प्रगति गर्न सकेको छैन।

घटना भएको दुई दिन बितिसक्दा पनि अपराधीको पहिचान नहुनुका कारण प्रहरीले चर्को दबाब खेप्नुपर्ने अवस्था सिर्जना भएको छ।

चोरीबारे प्रारम्भिक अनुसन्धानका क्रममा ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी मोहनविक्रम दाहालको कमाण्डमा ईलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले सीसीटीभी फुटेज संकलन गरी अध्ययन गरिरहेको छ। तर अहिलेसम्म कुनै संदिग्ध व्यक्तिको पहिचान गर्न नसकिएको प्रहरी स्रोतले जनाएको छ।

मोबाईल व्यवसायी संघका प्रतिनिधिहरूले चोरीको प्रकृति हेर्दा संगठित पेसेवार समूहको संलग्नता हुन सक्ने आशंका व्यक्त गरेका छन्। “हाम्रो बजार क्षेत्रभित्र सुरक्षाको कडा निगरानी हुनुपर्ने हो, तर यस्तो ठूलो चोरी हुँदा पनि अपराधी पहिचान हुन नसक्नु चिन्ताको विषय हो,” एक व्यवसायीले भने।

यसैबीच, उर्लाबारी उद्योग वाणिज्य संघले समेत प्रहरीको अनुसन्धान क्षमतामाथि प्रश्न उठाएका छन्। सोमबार एक विज्ञप्ती जारी गर्दै संघले ” प्रहरी कार्यालयदेखि १ सय ५० मिटर दुरीमा चोरी हुनुले सिंगो व्यपारीक क्षेत्र नै आतंकित देखिएको र सुरक्षा सम्बेदनशीलताको विषयमा गम्भिर प्रश्न चिन्ह खडा भएको ” जनाएको छ ।

यस्तै, सर्वसाधारणले समेत प्रहरीको अनुसन्धान क्षमतामाथि प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमा “यति ठूलो चोरी हुँदा पनि अपराधी पत्ता लगाउन नसक्ने हो भने सुरक्षा व्यवस्था कति कमजोर छ?” भन्ने प्रकारका प्रतिक्रियाहरू देखिन थालेका छन्।

यस्तै उर्लाबारी प्रहरीले अनुसन्धान तीव्र गतिमा अगाडि बढिरहेको बताउदै अपराधीलाई चाँडै कानुनी दायरामा ल्याइने बताईएको छ । “सीसीटीभी फुटेज, सोहि प्रकृतिका घटनामा संलग्नहरुको विवरण तथा सुराकीको आधारमा अनुसन्धान अघि बढाइरहेका छौं,” ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक राकेश यादव बताउछन् ।

त्यस्तै, प्रहरीले चोरीएका मोवाईलहरु सिमावर्ती नाकाहुदै भारततर्फ जानसक्ने भएकोले नाकामा कडाई गरिएको जनाएको छ । प्रहरीस्रोतअनुसार दिनरात नभनी सो घटनाबारे अनुसन्धान भैरहेको छ।

यता पसल संचालक योगराज कार्कीले महेन्द्र राजमार्गसँगै रहेको सो पसलमा करिव ४ करोड मुल्य बराबरको मोवाईलसहित नगद ९ लाख समेत चोरी भएको बताउदै ईलाका प्रहरी कार्यालय उर्लाबारीमा सोमबार ठाडो उजुरी दिएका छन् ।

उनकाअनुसार आईफोन, सामसुङ, रेडमी, रियलमी, ओपोलगायत विभिन्न ब्राण्डका ४ सय ६५ भन्दा बढी मोबाईलहरु पसलमा राखिएको थियो । प्राप्त जानकारीअनुसार डिष्ट्रिव्युटरबाट ति मोवाईलहरु आईतबार मात्रै उनको पसलमा डेलिभरी भएको थियो।

यस्तै सो चोरी सम्भवत: नेपालको मोवाईल व्यवसाय क्षेत्रमै अहिलेसम्मको ठुलो चोरी हुनसक्ने अनुमान गरिएको छ ।

स्रोतकाअनुसार प्रहरीले हालसम्म एक थान मोवाईल र करिव २ सय थान मोवाईलका बक्स र ५० थान बढि चार्जर मात्र फेला पार्न सफल भएको छ ।

प्रहरीले उक्त पसलसहित आसपासका पसलहरुमा भएको सीसी क्यामेराको फुटेजबाट समेत अनुसन्धान गरिरहेतापनि चोरीमा संलग्नको पहिचान गर्न भने सकिरहेको छैन ।

यता प्रहरीले यदि छिट्टै अपराधी पक्राउ गर्न सकिएन भने, प्रहरीको दक्षता र प्रतिबद्धतामाथि थप प्रश्न उठ्ने निश्चित छ। अबको केही दिनभित्र अनुसन्धानले स्पष्ट मोड नलिएमा व्यवसायी र सर्वसाधारणबाट प्रहरीमाथि थप दबाब बढ्ने देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय