ग्रासरुटदेखि नै खेलाडी उत्पादन गर्ने उद्देश्यले उर्लाबारी—२ स्थित डुम्रेको खेल मैदानमा जारि नगर स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा सुनपकुवा मावि र मोरङ् मोडेल विजयी भएको छ ।
बुधबार सुनपकुवा मावि र होलि चायल्ड बोर्डिङ्बिच भएको खेलमा सुनपकुवा मावि २-० को अन्तरले विजयी भएको हो । सुनपकुवाका तर्फबाट सौगात धिमालले गरेको १ गोल गरेका थिए । यस्तै होलि चायल्डले गरेको आत्माघाती गोलले सुनपकुवा सुरक्षित साथ विजयी भएको थियो । उक्त खेलको म्यान अफ दि म्याच सुनपकुवाका सोभित विश्वकर्मा घोषित भए ।
यस्तै आजै मोरङ् मोडेल बोर्डिङ् र भृकुटी बोर्डिङ्बिच भएको दोस्रो खेलमा मोरङ् मोडेल १-० को अन्तरले विजयी भएको छ । दिपजोन गुरुङ्गले गरेको १ गोलले मोरङ् मोडेल विजयी भएको हो । गोल रक्षक निशान धिमाल उक्त खेलको म्यान अफ दि म्याच घोषित भए ।
यस्तै प्रतियोगिताको चौथो दिन बिहिबार समेत दुई खेल आयोजना गरिने क्लबका अध्यक्ष महेश भण्डारी( सक्षम) ले जानकारी दिए । उनका अनुसार भोलीको पहिलो र दोस्रो क्वाटरफाईनल खेल क्रमश: सनसाईन बोर्डिङ् र विद्याज्योती बोर्डिङ्बिच र मोरङ् मोडेल बोर्डिङ् र पार्लेन्स बोर्डिङ्बिच हुनेछ ।
उर्लाबारीका सामुदायिक र निजी गरी १३ वटा विद्यालयहरूको सहभागिता रहेको उक्त प्रतियोगीतामा कक्षा १० सम्मका विद्यार्थीहरूले मात्र भाग लिएका छन् ।
प्रतियोगितामा विजेता र उपविजेता लाई क्रमशः नगद १० हजार, ६ हजार सहित शिल्ड, प्रमाण पत्र र पदक प्रदान गरिने आयोजक क्लबका अध्यक्ष भण्डारीले बताए ।
दोस्रो संस्करणको उक्त प्रतियोगिताका लागि स्थानीय सरकार, संघ संस्था र विभिन्न दाताहरुको सहयोग रहेको क्लबका सचिव विशाल भण्डारीले बताए ।
प्रतियोगिताको फाइनल खेल जेठ २२ गते हुने बताईएको छ । यस्तै फाइनलअघि भेट्रान खेलाडीहरुको ‘च्यारिटी म्याच’ खेलाइने आयोजकले जानकारी दिएको छ ।