उर्लाबारी-३ मंगलबारेमा जारी प्रथम मंगलबारे नकआउट च्यालेन्ज कप २०८१ फुटबल प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न ‘मैत्रीपूर्ण भाले गेम’ खेलमा लेटाङ भेट्रान क्लव विजयी भएको छ ।

सो खेलमा लेटाङ भेट्रानले मंगलबारे भेट्रान क्लवलाई १-० को अन्तरले हराएको थियो । खेलको ५ औं मिनेटमा लेटाङका जर्सी नम्बर २५ का खेलाडी रोशन लिम्बु उर्फ लौके’ले गरेको १ गोल नै सो खेलको निर्णायक बनेको थियो ।

आफ्नो उत्कृष्ट खेल प्रदर्शनी गरेको बताउदै आयोजकले लेटाङका मोदि मगरलाई म्यान अफ दि म्याच घोषणा गरेको थियो । उनी एक क्यारेट अण्डासहित प्रमाण पत्रले पुरस्कृत भए ।

यस्तै सो मैत्रीपूर्ण खेलको विजेता र उपविजेता दुवै टीमलाई १÷१ वटा लोकल भालेले पुरस्कृत गरिएको खेल संयोजक सन्तोष न्यौपानेले जानकारी दिए ।

मंगलबारे फुटबल क्लव र वडा खेलकुद समिती उर्लाबारी ३ को आयोजनामा गत जेठ ६ गतेदेखी सुरु भएको सो प्रतियोगिताको फाईनल खेल मंगलबार संचालन हुनेछ ।

उर्लाबारी नगरपालिकाको मुख्य प्रयोजन रहेको सो प्रतियोगिताको फाईनल खेल मंगलबार केर्खा स्पोर्टिङ क्लव र चुलाचुली स्पोर्टिङ क्लवबिच दिउसो २ बजेदेखी संचालन हुने मंगलबारे फुटबल क्लवका अध्यक्ष पपिन राईले जानकारी दिए । सो प्रतियोगीतामा झापा, मोरङ र सुनसरीका १० वटा क्लवको सहभागीता रहेको थियो ।

उर्लाबारी वडा नम्बर ३ सालबारीस्थित प्रस्तावित रंगशालामा संचालन भैरहेको सो प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक वडा खेलकुद समितीले जनाएको छ ।

यस्तै प्रतियोगितामा म्यान अफ दि म्याच, उत्कृष्ट खेलाडी, वेष्ट मीड फिल्ड, वेष्ट डिफेन्स, हाई स्कोरर, वेष्ट गोल किप्परलगायतका विधाहरुमा खेलाडीलाई सम्मानित गरिने कोषाध्यक्ष आयुष पुरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय