
शैक्षिक गुणस्तरमा छलाङ मार्दै आएको उर्लाबारी–८ स्थित शान्तिक्षेत्र आधारभुत विद्यालयले ३७ औँ वार्षिकोत्सव विविध कार्यक्रम गरी सम्पन्न गरेको छ । शनिबार विद्यालय प्राङ्गणमा कोशी प्रदेश सांसद उमाकान्त गौतमको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाइएको हो ।
सो अवसरमा विद्यालयका अक्षयकोषदाता तथा सहयोगदाताहरुलाई सम्मान समेत गरिएको थियो । उक्त अवसरमा उर्लाबारी- ८ बालबिसौनी निवासी हाल हङकङमा बसोबास गर्दै आएका कमल लिङ्थेपलाई धन्यवादस्वरुप एक सम्मान पत्रले सम्मान गरिएको थियो । सो सम्मान पत्र युवा प्रतिभा प्रस्फुटन प्रोत्साहन अक्षयकोषका संयोजक रुद्रबहादुर तामाङ्लाई हस्तान्तरण गरिएको थियो । अक्षयकोषका संस्थापक सदस्य समेत रहेका लिङ्थेपले आफ्नो स्वर्गीय बुबाआमाको स्मृतीमा सो विद्यालयमा १ लाख ११ हजार १ सय ११ रुपैया बराबरको अक्षयकोष स्थापना गरेका थिए ।




कार्यक्रममा प्रमुख अतिथि गौतमले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा आभिभावकहरुको भुमिका महत्वपूर्ण हुने बताए । उनले राज्यका निकायले विद्यालयको भौतिक र प्राविधिक क्षेत्रमा लगानी बढाउँदै लैजानुपर्ने र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा शिक्षकहरुले जिम्मेवार भुमिका खेल्नुपर्नेमा जोड दिए ।
यस्तै सो कार्यक्रममा उर्लाबारी नगरप्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पाैडेल, वडा अध्यक्ष कुलवहादुर कार्की, नगर शिक्षा समितिका सदस्य पुर्ण घिमिरे, सामाजिक अभियान्ता रुद्रबहादुर तामाङ , जयधर्म आचार्यलगायत आफ्नो मन्तव्य राख्ने क्रममा पछिल्लो समय शैक्षिक गुणस्तर उकास्न शान्तिक्षेत्र आविले गरेका प्रयासहरुकाे प्रशंसा गरेका थिए ।
यसैबिच सो अवसरमा विद्यालय परिसरमा निर्माण हुने सरस्वती मन्दिरको प्रमुख अतिथि प्रदेशसभा सदस्य गौतमसहित अतिथीहरुले शिलान्यास समेत गरेका थिए ।
विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पदमबहादुर खुलालले विद्यालयकाे गतिविधिका बारेमा जानकारी गराएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद निरौलाको अध्यक्षमा भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष उत्तरबहादुर रोक्काले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।
शिक्षक बिशाल कट्टेलले सञ्चालन गरेको कार्यक्रममा उर्लाबारीका विभिन्न विद्यालयका प्रधानाध्यापक, शान्तिक्षेत्र आविका पूर्व प्रअ तथा पूर्वशिक्षक, पूर्व व्यवस्थापन समितिका पदाधिकारी तथा अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।