उर्लाबारी-२ स्थित सुनपकुवा माध्यमिक विद्यालयले आफ्नो ६७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा मनाएको छ । शुक्रबार मोरङ क्षेत्र नम्बर १ का संघीय संसद तथा निवर्तमान युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

सो अवसरमा पुर्व मन्त्री लिम्बुले आफ्नो मन्तव्य राख्ने क्रममा विद्यालयको शैक्षिक सुधार र भौतिक निर्माणका लागि विद्यालय व्यवस्थापन समिती र उर्लाबारीका जनप्रतिनिधीहरुले विषेश योजना तयार गर्न अनुरोध गरे । उनले सो योजनालाई आधार बनाएर आगामी बजेटमा प्राथमिकताका साथ राख्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै उनले आफुले मन्त्री पदमा रहदै गर्दा स्कुल बस माग गर्दै भारतिय राजदुतावासमा योजना समेत पेश गरेको बताए ।

यसका साथै उनले देशमा राजनितिक अस्थिरता बढेको बताउदै देशको संविधान नै धरापमा परेको टिप्पणी गरे । उनले सरकार बन्ने र ढल्ने क्रमले देशमा गृहयुद्ध बढ्न सक्ने संकेत गर्दै सचेत रहन आग्रह गरे । उनले भने,” अस्थिर सरकारको कारण देशमा अराजक गतिविधी बढ्न सक्ने भएकोले सम्पुर्ण जनप्रतिनिधी तथा राजनितिज्ञहरुले यसप्रति गम्भिरताका साथ सोचि मुलुकको समग्र विकास र शान्ति स्थापनाको लागि काम गर्न आवश्यक छ ।”

यस्तै सो अवसरमा पुर्व मन्त्री लिम्बुद्वारा विद्यालयमा नवनिर्मित ६६ औँ स्वर्ण स्मारिका स्तम्भ अनावरण समेत गरिएको थियो ।

विद्यालयको प्राङ्गणमा एक भव्य समारोहबीच आयोजना गरिएको सो कार्यक्रममा विद्यालयमा नवनिर्मित सरस्वती मन्दिर र स्वर्ण स्मारक निर्माणमा सहयोगी दातालगायत विद्यालयका अक्षयकोषदातालाई समेत सम्मान गरिएको थियो । साथै सो अवसरमा विद्यालयमा स्थापित विभिन्न अक्षयकोषका दाताहरुद्वारा १६ जना विद्यार्थीहरुलाई नगद सहित परस्कृत समेत गरिएको थियो ।

सो कार्यक्रममा विशिष्ट अतिथी कोशी प्रदेशसभा सदस्य उमाकान्त गौतम, शोभा चेम्जोङ् पालुङ्वा, नगर उप प्रमुख मिना खतिवडा पौडेल , पुर्व प्रदेशसभा सदस्य कुशल लिम्बुलगायतले मन्तव्य राखेका थिए ।

विद्यालय व्यवस्थापन समिती अध्यक्ष टिका कुमारी भट्टराईको सभाध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भुमीराज प्याकुरेलले विद्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विभिन्न सांस्कृतिक कार्यक्रमसहित संचालन गरिएको सो कार्यक्रम विद्यालयका शिक्षकशिक्षीका र विद्यार्थीहरुले नृत्य, गायनलगायतका मनोरञ्जनात्मक प्रस्तुतीहरुले सुसज्जीत थियो ।

विद्यायका शिक्षक भ्रमण नेपाल र नारद प्रसाद सुवेदिले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका सह-प्रअ केशव खड्काले राखेका थिए ।

कार्यक्रममा ईलाका प्रशासन कार्यालय उर्लाबारीका प्रमुख रुद्रप्रसाद न्यौपाने, शिक्षा विकास तथा समन्वय इकाइ मोरङका इकाइ प्रमुख टंकप्रसाद गौतम, जिल्ला समन्वय समिती मोरङका सदस्य मित्रप्रसाद ढकाल, वडाध्यक्षद्वय भिष्मराज बुढाथोकी, कल्याण राई र राजन कडेँल, विद्यालय व्यवस्थापन समिती सदस्य चेतन कोईराला, गणेश आचार्य, निर्मला अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।

वि.सं. २०१४ सालमा स्थापित सो विद्यालयमा हाल १ हजार ३ सय ६ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय