दिलीप पोखरेल / उर्लाबारी
उर्लाबारी वडा नम्बर ३ मंगलबारेमा मलद्वारमा लुकाईएको अवस्थामा प्रतिबन्धित लागुऔषधसहित सोनाम तामाङ् उर्फ सान्नानी पक्राउ परेका छन् ।
आईतबार बिहान करिव ८ बजे मंगलबारेनिवासी ३७ वर्षिय सान्नानीले आफ्नो मलद्वारभित्र अवैध लागुऔषध खैरो हिरोईन (ब्राउन सुगर) जस्तो देखिने पदार्थ राखि ओसारपसार र कारोबार गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरिक्षक देवेन्द्र दासकाअनुसार गत हप्तादेखी तामाङलाई पछ्याईरहने क्रममा आईतबार मंगलबारे चोकमा असहज गरि गर्दै हिड्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । निरिक्षक दासकाअनुसार उनलाई तत्काल नियन्त्रणमा लिई खानतलासी लिने क्रममा उनलाई मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा लगिएको थियो । चिकित्सकद्वारा औषधीको प्रयोग गरी दिसा गराउदा सान्नानीको मलद्वारबाट लागुऔषध जस्तो पदार्थ रहेको सेतो रङको प्लाष्टिकको पोका निस्किएको प्रहरी निरिक्षक दासले बताए ।
यस्तै प्रहरीले उक्त प्लाष्टिकको पोकासहित तौल गर्दा ८ ग्राम ३ सय २० मिलिग्राम रहेको जनाएको छ । साथै प्लाष्टिकबाट निकाली तौल गर्दा ४ ग्राम ८ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको निरिक्षक दासले बताए ।
प्रहरीले सो घटनाबारे थप अनुसन्धान भैरहेको बताएको छ।
उर्लाबारी प्रहरीले यसअघी समेत मंगलबारे क्षेत्रमा पटकपटक प्रतिबन्धित लागुऔषध सहित युवाहरुलाई पक्राउ गरेको थियो । गत साउन १८ गते मंगलबारेबाट मात्रै प्रहरीले ४ जना युवाहरुलाई ब्राउन सुगरसहित प्रकाउ गरेको थियो ।
पछिल्लो समय उर्लाबारी प्रहरीले लागुऔषध प्रयोगकर्ता र कारोबार गर्नेहरुलाई निगरानीमा राखेर धमाधम पक्राउ गर्दै आएको छ ।
प्रहरीले त्यस्ता व्यक्तिहरुलाई शंकास्पद देखिएमा तत्काल खानतलासी लिने जनाएको छ ।
उर्लाबारीलाई लागुऔषधमुक्त नगर बनाउने अभियानका साथ विभिन्न योजनाहरु बनाई उत्कृष्ट नतिजा निकाल्दै आएका प्रहरी निरिक्षक दास भन्छन्,” मलद्वार होस् या हरीद्वार जहाँ लुकाई राखेर कारोबार र प्रयोग गर्नेहरुप्रति हामी निर्मम भई कारवाही गर्छौँ , प्रहरीले कुनै पनि हालतमा छोड्ने छैन ।”