दिलीप पोखरेल / उर्लाबारी उर्लाबारीमा सुन, मोवाईल फोन र साईकल चोरीमा संलग्न रहेको अभियोगमा १९ वर्षिय एक युवक पक्राउ परेका छन् । छुट्टाछुट्टै स्थानमा घर फोडी २ तोला ५ आना सुन, ५ वटा काँचको थाल , ५ थान मोवाईल फोन र ३ वटा साईकल चोरी गरेको अभियोगमा उर्लाबारी वडा नम्बर ६ स्थित चन्द्रमा चोकका सरोज बस्नेत पक्राउ परेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
यस्तै प्रहरीले उक्त चोरीको सुन र थाल सस्तो मुल्यमा खरिद गर्ने उर्लाबारी वडा नम्बर ७ की २८ वर्षीया टंकमाया लामिछाने मगरलाई समेत पक्राउ गरेको जनाएको छ । उनीहरुलाई गत भदौ ११ गते दिउसो २ बजे पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरिक्षक देवेन्द्र दासले बताए ।
उनीहरुविरुद्ध चोरी अभियोगमा मुद्धा चलाई मोरङ जिल्ला अदालतबाट ६ दिन म्याद थप गरि अनुसन्धान भैरहेको निरिक्षक दासले बताए ।
प्रहरीकाअनुसार बस्नेतले गत भदौ १० गते बिहान साडे ९ बजे वडा नम्बर ६ जनपथ चोकस्थित जंग बहादुर धिमालको घरको ढोकाको ताल्चा फुटाई १ तोला ४ आनाको सुनको मंगलसुत्र, ५ वटा काँचको थाल चोरी गरेका थिए । यस्तै उनले गत साउन ९ गते आफ्नै घरको दराजको ताला फोडी आधा तोलाको सुनको पिंजरा चोरी गरेको प्रहरीले बताएको छ ।
प्रहरीकाअनुसार बस्नेतले चोरी गरेका उक्त सुनका गरगहना सस्तो मुल्यमा लामिछानेलाई बिक्री गरेका थिए । प्रहरीले अनुसन्धानको क्रममा ति वस्तुहरु लामिछानेबाट बरामद गरेपछि उनलाई समेत पक्राउ गरिएको जनाएको छ ।
त्यस्तैगरी बस्नेतले गत भदौ ७ गते रातको समयमा क्रमश: वडा नम्बर ७ की पवित्रा भन्डारीको घरको कोठाबाट रेडमी ब्राण्डको मोवाईल फोन र भारतको विहार राज्यस्थित किसानगञ्ज घर भई उर्लाबारी -७ स्थित मावाखोला पुलमा काम गर्ने अब्दुल हाकिमको भिभो ब्राण्डको मोवाईल फोन चोरी गरेको उर्लाबारी प्रहरीले जनाएको छ ।
यता प्रहरीले भने उक्त मोवाईल फोनहरु सम्बन्धित धनीलाई कागजपत्र र आईएमईआई नम्बर जाँच गरि शुक्रबार फिर्ता गरेको जनाएको छ ।
यस्तै उनले उर्लाबारी र दमक क्षेत्रबाट अन्य ३ थान मोवाईल फोनहरु समेत चोरी गरेको बताईएको छ ।
प्रहरीकाअनुसार बस्नेतबाट बरामद गरिएका जम्मा ५ वटा मोवाईलमध्ये ३ वटा सम्बन्धित धनीलाई फिर्ता गरिएको छ भने बाँकी २ वटा फोनको धनीको खोजी कार्य समेत भैरहेको छ ।
यस्तै अनुसन्धानको क्रममा बस्नेतले ३ वटा साईकल समेत चोरी गरेर बिक्री गरेको खुलेपछि प्रहरीले ति साईकल बरामद गरेको छ । यता प्रहरीले सम्बन्धित साईकल धनीहरुको समेत खोजी कार्यलाई तिब्रता दिईएको बताउदै चाडै उक्त साईकलहरु फिर्ता गराईने बताएको छ ।
प्रहरी निरिक्षक दासकाअनुसार विभिन्न स्थानमा चोरी गरि फरार रहेका बस्नेत पक्राउ परेसँगै उर्लाबारी क्षेत्रमा चोरीका घटनामा संलग्न अन्यको समेत खोजी कार्यलाई तिब्रता दिईएको छ ।
प्रहरी निरिक्षक दासले चोरीको घटनाबारे अनुसन्धान भैरहेको बताए ।