दिलीप पोखरेल/ उर्लाबारी
नवौं संविधान दिवसको अवसरमा बिहिबार उर्लाबारीमा सातौं संस्करणको उर्लाबारी रन २०८१ भव्यताका साथ सम्पन्न भएको छ ।
सामुदायिक विकास मञ्चद्वारा आयोजित सो रनमा छिमेकी मुलुक भारतका समेत धावकहरुको उपस्थिती रहेको थियो ।
यसैबिच १० कि.मी. पुरुष भेट्रानतर्फको विधामा दोलखा जिल्लाको जिरी नगरपालिका वडा नम्बर ८ खावा पखेरेका ४१ वर्षिय पारा एथलिट नवराज कार्किले उपाधि जितेका छन् । उनले सो दुरी ४२ मिनेट ७ सेकेण्डमा पुरा गरेका थिए । उनी १० हजार नगदसहित मेडल र प्रमाणपत्रले सम्मानित भए ।
यता दौडमा सहभागि भई भेट्रानको उपाधि जितेपछि उपस्थित सम्पुर्णको ध्यान पारा एथलिट नवराज कार्कितिर गएको थियो । कारण एउटै थियो ,उनी शारीरिक रुपमा अशक्त थिए । उनको दाहिने हात नै थिएन ।
सामान्य परिवारका कार्कीको शारीरिक अशक्तता प्राकृतिक जन्मको कारण होईन । वि.सं. २०६१ सालमा कङ्क्रिट बालुवा उद्योगमा मजदुरी गर्ने क्रममा उनको हात मिक्स्चर मेसिनमा च्यापिएकोले दाईने हात गुमेको थियो।
१३ वर्षदेखी रनमा आवद्ध पारा पारा एथलिट्स खेलाडी कार्कीले काठमन्डौं म्याराथोन , नेपाल आर्मीको हाफ म्याराथोन, नेपालगञ्ज रन, लुम्बिनी पिस म्याराथोन , खोटान रन, सिक्किम रन, तरहरा रन , धरान रन ,चितवनको रोटरी रन लगातका १ सय भन्दा बढि रनमा सहभागिता जनाएका छन् । यस्तै उनले राष्ट्रिय स्तरको बाग्मती प्रदेश रन र अन्तर्राष्ट्रिय स्तरको काठमान्डौ म्याराथोनमा सहभागिता जनाएका छन् ।
१ छोरा , १ छोरी र श्रमतीसँग बस्दै आएका कार्कि आफ्नो आम्दानिको थप स्रोत केहि नभएको बताउछन् ।उनकाअनुसार गृहजिल्ला र आसपासका क्षेत्रहरुमा आयोजना हुने प्रतियोगितामा कोचको रुपमा काम गर्दै पारिश्रमिक लिएर मुस्किलले उनी गुजारा गरिरहेको बताउछन् । यस्तै उनले आफुलाई न राज्यले ,न पाराओलम्पिक कमिटी, न स्थानिय तह न कसैले , हालसम्म पनि केहि सहयोग नगरेको बताउछन् ।
यता उनी विजेता भएतापनि पुरस्कार राशी भने एकदमै कम भएकोमा गुनासो व्यक्त गरे । उनले भने,” बिहिबारको खेलको लागि हामी ५ जना बुधबार नै उर्लाबारी आएका थियौँ । आयोजकले खाने र बस्नेको व्यवस्था मिलाएको थियो । यो पुरस्कारले त हाम्रो सामान्य खर्च समेत उठेन । सकिन्छ भने अर्को संस्करणदेखी पुरस्कार राशी बढाउन सुझाव दिन चाहान्छौँ । ”
यस्तै उनले आफु पारा एथलिट्स खेलाडी भएको दशकौँ भैसकेतापनि हालसम्म पनि पारा ओलम्पिक्समा सहभागि हुन नपाएको दुखेसो व्यक्त गरे ।
के हो पारा एथलिट?
पारा एतलिट शारीरिक वा मानसिक अपांगताका बाबजुद विभिन्न खेलकुद प्रतियोगिताहरूमा सहभागी हुने खेलाडीहरू हुन्।
उनीहरुले “प्यारालिम्पिक्स” जस्ता अन्तर्राष्ट्रिय खेल प्रतियोगिताहरूमा भाग लिन्छन्, जसको उद्देश्य अपांगता भएका व्यक्तिहरूलाई खेलकुद मार्फत सशक्तीकरण, सम्मान, र अवसर प्रदान गर्नु हो।
पारा एथलिटहरूले सशक्तीकरण र प्रेरणाको उदाहरण प्रस्तुत गर्छन्, जसले समाजमा अपांगता भएकाहरूको क्षमता र सम्भावनाहरूलाई प्रकट गर्दछ। उनीहरूले आफ्नो अनुशासन, आत्मबल, र मेहनतका माध्यमबाट सबैको लागि प्रेरणादायी उदाहरण स्थापित गर्छन्।
पारा एथलिटहरू विभिन्न खेल विधाहरूमा भाग लिन्छन्, जस्तै:
प्यारालिम्पिक एथलेटिक्स: दौड, हामफाल, फाल-हाम्फाल, आदि।
विलचेयर बास्केटबल: पाङ्ग्रा भएका कुर्सीमा बसेर खेलिने बास्केटबल।
पावरलिफ्टिंग: भारोत्तोलन खेल जहाँ खेलाडीले आफ्नो तौलको आधारमा प्रतिस्पर्धा गर्छन्।
गोलबल: दृष्टिविहीन खेलाडीहरूका लागि बनाइएको खेल, जहाँ विशेष ध्वनीयुक्त बल प्रयोग गरिन्छ।
स्विमिङ: विभिन्न तैराकी प्रतिस्पर्धा अपांगताको प्रकारको आधारमा वर्गीकृत हुन्छ।