
उर्लाबारी-३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई नेपाली कांग्रेस मोरङ् क्षेत्र नम्बर १ समितीले ६ सय थान डेँगु सेरोलोजी किट हस्तान्तरण गरेको छ ।
पछिल्लो समय अस्पतालमा डेँगु जाँच गराउन आउनेहरुको संख्या बढेसँगै अस्पतालमा उक्त किट अभाव हुन थालेको जानकारी पाएपछि कांग्रेस क्षेत्रीय समितीले नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुको पहलमा बुधबार अस्पताललाई हस्तान्तरण गरिएको नेपाली कांग्रेसका क्षेत्रीय सदस्य एवम् कांग्रेस क्षेत्र नम्बर १का स्वास्थ्य संयोजक सर्वजित भण्डारीले जानकारी दिए ।




आज अस्पतालमा एक कार्यक्रमबिच कांग्रेस क्षेत्रीय सभापति शंखर राई र युवा तथा खेलकुद मन्त्री लिम्बुको सचिवालय सल्लाहकार भिम थापाको नेतृत्वमा अस्पताल प्रशासनलाई किट हस्तान्तरण गरिएको भण्डारीले जानकारी दिए ।
हस्तान्तरण कार्यक्रममा बोल्ने क्रममा क्षेत्रीय सभापति राईले महामारीमा सबै पार्टि, सामाजिक संस्था , समाजका अगुवालगायतले सहयोग गर्नुपर्ने धारणा राखे । उनले लेटाङ्गमा डेँगु संक्रमित अत्याधिक बढेकोले झापा,मोरङ्ग र सुनसरीमा महामारीको रुपमा लिनसक्ने चुनौती बढेको जनाउदै अग्रिम तयारी गर्न सुझाव दिएका छन् ।
अस्पतालका सुचना अधिकारी निराजन पौडेलका अनुसार दैनिक अस्पतालमा २ सयको संख्यामा डेँगुका लक्षणसँग मिल्दोजुल्दो ज्वरोका बिरामीहरु उपचारको लागी आउने गरेकोले डेँगु जाँच्ने किट अभाव हुन थालेको जानकारी दिए । ‘ दैनिक शंकास्पद केसहरु आउने गरेकोले अस्पतालमा किट अभाव छ, डेँगु महामारी सरह फैलिएकोले हामीलाई थप किट आवश्यक रहेको छ। ” पौडेलले बताए, ‘ अस्पताललाई यो महामारीमा किट उपलब्ध गराउन स्थानिय, प्रदेश र कन्द्रिय सरकार, सरोकारवाला निकाय, सामाजिक संघ संस्था लगायतले ध्यान दिनुपर्ने अवस्था आएको छ ।’
यसैबिच अस्पतालमा किट अभाव भएसँगै किट सहयोग गर्न अस्पतालले सम्पूर्ण सरोकारवाला व्यक्ति तथा निकायहरुसँग अपिल गरेको बताईएको छ ।
किट हस्तान्तरण कार्यक्रममा नेपाली कांगेसकी महाधिवेशन प्रतिनिधी सिता कार्की र ललित अधिकारी, मोरङ्ग जिल्ला सदस्य सोभितमाया तामाङ्सहित कांग्रेसका गञ्जबहादुर कार्की, प्रकाश थापा, सन्तोष भण्डारी , चेतन कोईराला, सोमप्रसाद तिम्सिना(राम) लगायतको उपस्थिती रहेको थियो ।
यसअघि कांग्रेस उर्लाबारी वडा नम्बर ३ समितीद्वारा अस्पताललाई १ सय थान किट हस्तान्तरण गरिएको थियो ।