मोरङको पथरीशनिश्चरेमा शंकास्पद मृत्यु भएको अवस्थामा एक जना महिलाको शव फेला परेको छ । सोमबार पथरीशनिश्चरे वडा नम्बर १स्थित हनुमानचोकमा परिवारसहित डेरामा बस्दै आएकी अन्दाजी २५ वर्षीया चाँदनी चौधरीको शव फेला परेको हो ।

आज दिउँसो करिव २:४५ बजेतिर ओछ्यानमा सुतिरहेको अवस्थामा चौधरीको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको घाँटी कसेको र टाउकोमा केहि वस्तुले प्रहार गरेजस्तो देखिने चोट रहेको प्रहरीले जनाएको छ ।

घटनाको प्रकृति हेर्दा महिलाको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । हालसम्म पनि स्पष्ट रूपले स्थाई ठेगाना खुल्न नसकेको र मृतकको श्रीमान् पनि फरार रहेको ईलाका प्रहरी कार्यालय पथरीका डिएसपी गणेश कुमार श्रेष्ठले बताए ।

प्रहरीले श्रीमानको खोजी गरीरहेकोले घटनाबारे थप अनुसन्धान भईहेको डिएसपी गणेश कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार चौधरीको हत्या गरेपछि शव लगेर ओछ्यानमा राखिदिएको वा ओछ्यानमै घाँटी कसेर कुनै वस्तुले हिर्काएर हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि, अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्ने डिएसपी श्रेष्ठले बताएका छन् ।

कोठा भाडामा लिएर चाँदनीसहित उनका पति अन्दाजी ३५ वर्षीय मुकेश चौधरी र २ नाबालक छोराहरु बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

स्थानीय प्रेमबहादुर श्रेष्ठको घरमा २ महिनादेखि डेरा बस्दै आएकी चाँदनीले पानीपुरी र चटपटेको व्यापार गर्दै आएकी थिईन् ।

शरीरमा चोटपटक रहेको अवस्थामा उनको शव कोठामै भेटिएपछि प्रहरीले घटनालाई शंकास्पद मानेको हो ।

कोठाभित्र ओछ्यानमा चाँदनीको शव भेटिएतापनि उनका श्रीमान र नाबालक छोराहरु घरमा नभएको पाइएको छ। श्रीमान र नाबालक छोराहरु कहाँ छन् भन्ने यकिन नभएकोले उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको शवलाई पोष्टमार्टमको लागी उर्लाबारी-३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा राखिएको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय