
दिलिप पोखरेल/ उर्लाबारी
उर्लाबारी नगरपालिकाले वितरण गरेको करदाता पुरस्कार न्याय संगत एवं सही भएको बताएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाले तीन वटा आर्थिक वर्षमा नियमित र धेरै कर तिर्ने करदातालाई सम्मान गरिएको प्रष्टिकरण दिएका छन् ।
‘धेरै कर तिर्ने र नियमित रूपमा कर तिर्नेलाई सम्मान गर्नुपर्छ भनेर कार्यपालिकाको बैठकले गरेको थियो,’ निरौलाले भने,’नगरसभाको ११औं नगरसभाबाट सम्मान गर्ने भनेर कार्यापालिकाको बैठकले निर्णय गरेको हो । ‘




नगरपालिकाले वितरण गर्ने करदाता पुरस्कारप्रति असन्तुष्ट जनाउँदै पुरस्कार वितरण प्रक्रिया त्रुटिपूर्ण भएको भन्दै उर्लाबारीको पूर्वेली क्रसर उद्योगका सञ्चालक ध्रुवचन्द्र पराजुलीले नगरपालिकामा निवेदन दर्ता गराएका थिए । उनले विज्ञप्ति जारी गर्दै सबैभन्दा बढी कर तिर्ने आफ्नो उद्योग रहेको दाबी गर्दै पुनः करको मूल्यांकन गर्न माग गरेका थिए ।
कार्यकारी अधिकृत निरौलाले विगत ३ आर्थिक वर्षमा सबैभन्दा बढी र नियमित कर तिर्ने सेवाग्राही सिद्धार्थ एग्रिगेट देखिएकाले उक्त प्राइभेट कम्पनीलाई सम्मान गरिएको जिकिर गरे ।
निरौलाले कसैले एक वर्षमा जरिवाना परेर कर तिर्दा धेरै तिरेको देखिएपनि नियमित भन्न नमिल्ने बताए । ‘कसैले समयमा नै कर नतिरेर जरिवानासहित तिर्नु भयो भने जरिवाना तिरेर बढी तिरेको देखिएकाले धेरै देखिन्छ । तर जरिवाना तिरेर धेरै कर तिरेको भनेर भन्न मिल्दैन,’ उनले भने ।
करदाता सम्मानमा कुनै पनि किसिमको कमी कमजोरी नभएको निरौलाले बताए । नगरपालिकाले गरेको निर्णय कतै कमी भयो कित भनेर राजस्व शाखामा गएर बुझ्दा पनि ठिक भएको पाइएको कार्यकारी अधिकृत निरौलाले बताए ।
११औं नगरसभामा वितरण गरिएको करदाता पुरस्कारमा कार्यपालिकाले यस पटकलाई ३ आर्थिक वर्षलाई आधार मानेर सबैभन्दा बढी कर तिर्ने सेवाग्राहीलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।
पूर्वेली क्रसरका सञ्चालक पराजुलीले माघ २९ गते नगरपालिकालाई दिएको निवेदनमा आफ्नो उद्योगले सबैभन्दा बढी कर तिरेको दाबी गरेका थिए । उनको विवरणमा २०७९ साल भदौ २९ गते ५८ हजार, भदौ २३ गते ३ लाख, २०८० असार १७ गते २ लाख ९० हजार ४५० र असार २२ गते ३ लाख ८४ हजार गरेर कूल १० लाख ३२ हजार ४ सय ६२ रूपैयाँ तिरेको रिसद पेस गरेका थिए । सो क्रसरले नियमित रूपमा ३ वटा आर्थिक वर्षहरूमा कर नतिरेको नगरपालिकाले जनाएको हो ।
उर्लाबारी नगरपालिकाले आर्थिक वर्ष २०७८।०७९ देखि हालसम्म नियमित र सबैभन्दा बढी व्यवसायिक कर तिर्नेहरू मध्येबाट उर्लाबारी–१ स्थित सिद्धार्थ एग्रीगेट प्रालि र नियमित घरवाहल कर तिर्नेहरु मध्येबाट उर्लाबारी–४ निवासी वैजयन्ती मिश्रलाई सम्मान गरेको थियो ।
यस्तै उर्लाबारी नगरपालिकाका सूचना अधिकारी भरत अधिकारीले नगरपालिकाको निर्णय गलत नभएको बताए । पूर्वेलीले बुझाएको रकम स्टक प्रमाणितबापतको रकम मात्रै भएको अधिकृत अधिकारीले जानकारी दिए । राजश्व शाखाका अनुसार पूर्वेलीले व्यवसायिक करवापत नगरपालिकालाई आर्थिक वर्ष २०७८।०७९ देखि २०७९ ।०८०मा ५८ हजार र २०८० ।०८१ मा ३६ हजार रुपैयाँ गरी जम्मा ९४ हजार रुपैयाँ मात्र बुझाएको देखिन्छ ।
नगरपालिकाले पछिल्लो ३ आर्थिक वर्षको कर भुक्तान गरेको विवरण हेरेर उक्त निर्णय गरेको बताएको छ । यता सिद्धार्थले आर्थिक वर्ष २०७८ । ०७९ मा ३० हजार, २०७९ ।०८०मा ३० हजार र २०८० ।०८१ मा ३६ हजार गरी जम्मा ९६ हजार रुपियाँ नियमित रुपमा करबापत बुझाएको देखिन्छ ।
‘पूर्वेलीले ३ वटा आर्थिक वर्षमा नियमित रूपमा समयमा नै कर तिरेको देखिएको छैन,’ नगरपालिकाको राजस्व शाखाले भन्यो,’नियमित ३ वटा आर्थिक वर्षमा सिद्धार्थले तिरेको देखिएकाले नगर कार्यपालिकाको १०४औँ बैठकको निर्णयले उसैलाई सम्मान गरिएको हो । यसमा करदातालाई समयमा नियमित रूपमा कर तिर्नुपर्छ भनेर सन्देश पनि दिएका हौं । ‘
सामान्यतः एक आर्थिक वर्षलाई आधार मानेर पालिकाहरूले करदाता सम्मान गर्ने छन् ।नगरपालिकाले कार्यविधि नबनाएर कार्यपालिकाको बैठकमा ३ वटा आर्थिक वर्षमा नियमित र धेरै तिर्ने सेवाग्राहीलाई सम्मान गर्ने निर्णय गरेको हो । यसमा नगरपालिकाले करदाता सम्मान गर्ने कार्य सुरुवात गरेर राम्रो गरेको देखिन्छ तर त्यसलाई कार्यविधि बनाएर राम्रो हुने उपयुक्त देखिन्छ ।
कार्यकारी अधिकृत निरौला भन्छन्,’कार्यविधि बनाएर पुरस्कृत गरेको भए राम्रो नै हुन्थ्यो । आगामी वर्षहरूमा कार्यविधि बनाएर पास गरेर वेबसाइटमा अपलोड गरेर अरूसँग राय र समन्वय गरी कार्यविधिलाई मूर्त रूप दिन्छौँ । त्यसपछि पुरस्कार वितरण गर्नुअघि सूचना प्रकाशन गरेर दाबी विरोध गरेर मात्रै गर्छौं । त्यसले गर्दा अहिलेको जस्तो अवस्था पनि आउँदैन । ‘