दिलीप पोखरेल/ उर्लाबारी
मंगलबार उर्लाबारी नगरपालिकाको अनुगमन टोलीले एसईई परिक्षामा उत्तर लेखिएको ह्याण्ड रिट्टन चिट भेटिएपछि केन्द्राध्यक्षसँग २४ घण्टे लिखित स्पष्टिकरण मागेको छ ।
बिहान नगरपालिकाका सामाजिक विकास समिती संयोजक एवम् कार्यापालिका सदस्य कृष्ण बर्देवा र नगर शिक्षा शाखा प्रमुख अशोक घिमिरेको अनुगमन टोलीले उर्लाबारी -७ स्थित राधिका माविमा विज्ञान विषयको परिक्षामा सामेल भएका १५÷१६ जना परिक्षार्थीहरुसँग ह्याण्ड रिट्टन चिट फेला पारेको बताईएको छ ।
सो परिक्षा केन्द्रमा उर्लाबारी -७ को राधिका माध्यमिक विद्यालयका ३ सय ९ जना नियमित र ३ जना ग्रेड वृद्धि गरी जम्मा ३ सय १२ जना परिक्षार्थीहरु सहभागी भएका छन् ।
यता अनुगमन टोलीले परिक्षार्थीहरुसँग ह्याण्ड रिट्टन चिट फेला पारेपछि केन्द्राध्यक्ष समेत रहेका राधिका माविका प्रधानाध्यापक सुवासचन्द्र सापकोटासँग २४ घण्टाभित्र लिखित रुपमा स्पष्टिकरण पेश गर्न निर्देशन गरेको शिक्षा शाखा प्रमुख घिमिरेले बताए । यस्तै उनले उक्त विषयमा मोरङ् जिल्लाको जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइमा समेत जानकारी गराईएको बताए । उनका अनुसार सो विषयमा कानुन अनुसार छानविन हुने र थप विवरण बुधबार स्पष्टिकरण आएपछि मात्र प्राप्त हुनेछ ।
नगरपालिकाका प्रशासकीय अधिकृत मुरारी प्रसाद घिमिरेद्वारा हस्ताक्षरीत सो पत्रमा परिक्षाको वातावरण शान्त नरहेको साथै परीक्षार्थीहरुबाट प्रश्नपत्रको उत्तर लेखिएका चिटहरु विद्यार्थीका साथबाट भेटिएको हुदा सो विषयमा के कसो भएको भन्दै लिखित रुपमा जवाफ पेश गर्न निर्देशन गरिएको जनाईएको छ ।
उता चलानी नम्बर, हस्ताक्षर र छाप समेत नहानिएको नगरपालिकाको एक पत्र बाहिरिएको छ । यसरी जिम्मेवार निकायको गैरजिम्मेवारीपूर्ण तरिकाले बाहिर निस्किएको सो पत्रमा केन्द्राध्यक्षलाई लिखित रुपमा जवाफ पेश गर्न निर्देशन गरिएको छ । सो पत्र सामाजिक संजालमा छ्यापछ्याप्ती हुन थालेपछि नगरपालिकाको चौतर्फी आलोचना समेत सुरु भएको छ ।
सो पत्र कसरी बाहिर निस्कियो भन्ने सवालमा प्रशासकीय अधिकृत घिमिरेले प्रविधिको प्रयोगमा कतैबाट मिसप्लेस र मिसयुज हुन सकेको जानकारी दिए । उनले भने,” पत्र कसरी बाहिरियो त्यो खासै महत्वपुर्ण विषय होईन, हामीले हस्ताक्षरीत सो पत्रमा छाप र चलानी गरेर स्पष्टिकरण मागेका थियौँ, लिखित स्पष्टिकरण समेत आईसकेको छ, र हामीले सम्बन्धित निकायमा जानकारी गराएका छौँ । यस विषयमा नगरपालिकाले आवश्यक प्रकृया अगाडि बढाईसकेको छ ।”
यस विषयमा केन्द्राध्यक्ष समेत रहेका राधिका माविका प्रधानाध्यापक सापकोटाले परीक्षा सकिन करिब ३० मिनेट मात्र बाकी समय रहदा अनुगमन समितीले परिक्षार्थीहरुबाट फोटोकपी गरेर ल्याईएका उत्तर लेखिएका चिटहरु फेला पारेको जानकारी दिए । उनले मंगलबारे पेजलाई भने,” परीक्षामा खटिएका शिक्षक तथा कर्मचारी (सहयोगी गार्ड) हरुद्वारा नै सो चिट वितरण गरीएको रहेछ, हामीले भोलीदेखी उहाँहरुलाई परीक्षामा सहभागी गराउने छैनौँ ।”
यस्तै उनले यस विषयमा नगरपालिकालाई लिखित रुपमा स्पष्टिकरण समेत बुझाईसकेको जानकारी दिए ।