उर्लाबारीमा निर्माणाधीन घरको दुई तलामाथी ईटा जडान गर्ने क्रममा सरसरफाई गरिरहेका मजदुरको लडेर मृत्यु भएको छ ।
उर्लाबारी नगरपालिका वडा नम्बर ३ माझी चोक( शुभकामना बोर्डिङ् स्कूल छेउ) मा जेनिल लिम्बुको निर्माणधीन २ तल्ला पक्की घरको दोस्रो तल्लाको बाहिरी वालमा ईटा जडान गर्ने क्रममा सरसफाई गरिरहेका उर्लाबारी -२ का ४८ वर्षीय सनिकुमार श्रेष्ठको ज्यान गएको हो ।
उनी लडेर भुँईमा खस्दा गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर लगिएको थियो । ट्रमा सेन्टरले उनको अवस्था गम्भिर रहेको जनाउदै तत्काल विराटनगरस्थित न्युरो अस्पतालमा रिफर गरेको थियो ।
न्युरोमा उपचार सुरु हुन नपाउदै उनलाई चिकित्सकहरुले मृत्यु भएको घोषणा गरेका थिए ।
बुधबार विहान १०:१५ बजे लडेर घाइते भएका उनको अपरान्ह १२:०४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
मदजुरी गर्ने क्रममा लडेर दुखद निधन भएका श्रेष्ठ आफ्नी श्रीमतीसहित १ नातिनीसँग पुरानो मंगलबारे बजार (पूर्वउत्तर तर्फको बस्ती) मा बस्दै आएका थिए।
घर निर्माण कार्यमा मजदुरहरुलाई सेफ्टी एण्ड हेल्थसम्बन्धी जानकारी नगराईनु र सोहि अनुरुप पहिरनहरु समेत उपलब्ध नगराईनुले मजदुरहरुको मृत्यु हुने गरेको पाईन्छ ।
नगरपालिकाले घर निर्माण, विजुली मर्मतलगायत अन्य जटिल र संवेदनशील कार्यहरुमा खटिने आफ्ना पालिकाभित्रका मजदुरहरुको उपर्युक्त तथ्याङ्क राखि उनीहरुलाई सुरक्षासम्बन्धी तालिम र आवश्यक पहिरन समेत उपलब्ध गराउन सकेमा यस्ता दुर्घटनाहरु हुन पाउने छैनन् । यसका साथै यस्ता विषयहरुमा ठेकेदार पक्षसमेत सचेत बन्न आवश्यक देखिन्छ ।